पत्रकार महासंघमा इतिहास रच्दै निर्मला शर्मा पहिलो महिला अध्यक्ष बन्ने निश्चित
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा नेकपा एमाले निकट प्रेस चौतारीकी निर्मला शर्मा निर्वाचित हुने निश्चित भएको छ । मतगणना सकिँदासम्म शर्माले नै अग्रता कायम गरेकी छन् ।
यद्यपि निर्वाचनको नतिजा घोषणा गर्न बाँकी रहेको निर्वाचन संयोजक प्राध्यापक चिरन्जिवी खनालले जानकारी दिए । आइतबार दिउँसोसम्म नतिजा घोषणा गर्ने प्राध्यापक खनालले बताएका छन् ।
नेपाली कांग्रेस निकट प्रेस युनियनसहितको सहयोगमा शर्मासहितको समूह निर्वाचित हुन लागेको हो । तर केही पदाधिकारी र सदस्यमा भने माओवादी निकट प्रेस सेन्टरको प्यानलका उम्मेदवार निर्वाचित हुने देखिएको छ ।
यससँगै नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा महासंघले महिला नेतृत्व पाउने भएको छ । वर्षौंदेखि नै महिला पत्रकारहरु पत्रकारितामा सक्रिय रहे पनि पत्रकार महासंघको नेतृत्वमा हालसम्म महिला पुगेका थिएनन् । यसपटक शर्मा पहिलो महिला अध्यक्ष बन्दै इतिहास रच्ने तयारीमा छिन् ।
लामो समयदेखि पत्रकारितामा रहेकी शर्माले कान्तिपुर दैनिक लगायत पत्रपत्रिकामा काम गरिसकेकी छन् । पछिल्लो समय उनले कान्तिपुर टेलिभिजनमा ‘समकोण’ कार्यक्रम उत्पादन र सञ्चालन गर्दैआएकी छन् । उनी पत्रकारिता सम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण तालिमहरु दिने काममा सक्रिय छिन् । उनी सञ्चारिक समूहको पूर्वअध्यक्ष पनि हुन् ।
यसैबीच महासंघको महासचिवमा प्रेस काउन्सिलका राम प्रसाद दाहाल निर्वाचित हुने भएका छन् । यसपटक सत्ता गठबन्धन अनुसार पत्रकार महासंघमा पनि प्रेस चौतारी र प्रेस युनियनले गठबन्धन गरेर संयुक्त प्यानल बनाएका थिए ।
मतगणना सकिसक्दा प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलका अधिकांश उम्मेदवारहरु नै अगाडि छन् । तर केही प्राविधिक कारणले नतिजा घोषणा गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।