कुखुरा पालेर वर्षमा १८ लाख बचत गर्छन् शर्मा, ४ जनालाई रोजगारी



गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक एक लाख ५० हजार बचत गर्दै आएका छन् ।

स्थानीय ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए ।

‘तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु’, उद्यमी शर्माले भने ।

एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक एक लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताए ।

अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उनले बताए ।

किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उनको अनुभव छ । त्यसैले अब उहाँ व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा छन् ।


क्लिकमान्डु