निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति, अब कति ? (भिडियो)



काठमाडौं । सिमेन्ट उद्योगी व्यवसायीले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन् ।

बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

छलफलपछि सञ्चारकर्मीहरुसँग अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउन सिमेन्ट व्यवसायीहरुले प्रतिवद्धता गरेको जानकारी दिए । सिंहकाअनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पीपीसी सिमेन्ट उपलब्ध हुनेछ ।

‘सिमेन्ट उत्पादकहरुले अत्याधिक मूल्य वृद्धि गर्नुभएको छ, त्यस विषयमा आजको बैठकमा दुवै पक्षबीच छलफल भएको छ । काठमाडौंमा ७ सय रुपैयाँमा ओपिसी सिमेन्ट उपलब्ध गराउने भनेर उहाँहरुले प्रतिवद्धता जनाउनुभएको छ,’ सिंहले भने, ‘काठमाडौंको भाडा भैरहवा र वीरगञ्ज कोरिडोरबाट १४० रुपैयाँ हुँदा सिमेन्टको मूल्य पाँच सय ४० रुपैयाँमा फ्याक्ट्रिमा हुने भएको छ । अहिले यसको मूल्य ६ सय ८० रुपैयाँ रहेको छ । यसरी नै छलफल गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ।’

आफूहरुले सिमेन्ट उद्योगहरु धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।

‘हामीले उहाँहरुलाई सिमेन्ट उद्योगीहरु धराशायी हुने गरेर बजार भाउ पनि राख्नु भएन । बजार घाटालाई हेरेर जसरी उहाँहरुले अहिले फ्याक्ट्रीमा सात सय रुपैयाँ पुर्‍याउनु भएको छ । त्यसलाई समायोजन गर्नुपर्‍यो भनेर मन्त्रीको रहोबरमा छलफल गर्‍यौं,’ सिंहल भने, ‘ आफ्ना आफ्ना समस्याहरु राख्ने काम भएको छ । अब यही अनुसार सिमेन्ट व्यवसायीहरुले काठमाडौंमा ७०० रुपैयाँमा ओपिसी सिमेन्ट र ६०० रुपैयाँमा पीपीसी सिमेन्ट उपलब्ध गराउने हाम्रो बीचमा सहमति भएको छ । त्यो स्वागतयोग्य छ।’

सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरे ।


क्लिकमान्डु