काँग्रेसको कोशी सम्मेलन हुँदै, शेखर कोइरालाद्वारा बहिस्कार
काठमाडौं । नेपाली काँग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि प्रदेश राजधानी विराटनगरमा सुरु हुँदैछ ।
सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ । उनी शुक्रबार नै विराटनगर पुगिसकेका छन्।
तर आफ्नै प्रदेशको सम्मेलन पार्टीका अर्का प्रभावशाली नेता शेखर कोइरालाले बहिस्कार गर्ने भएका छन्। उनी उक्त सम्मेलनमा सहभागी नहुने भएका हुन्। उनी सम्मेलन छाडेर चितवन गइसकेका छन्।
त्यसैगरी नेता प्रकाशमान सिंह पनि उक्त सम्मेलनमा सहभागी नहुने भएका छन्। उनले पनि भोलि झापाको दमकमा हुने भ्युटावर उद्घाटन कार्यक्रमको बहाना बनाएका छन्।
पार्टीको बरीयता विवादका कारण उनीहरू सहभागी नहुने भएका बताइएको छ।
कोइरालाले पार्टी महाधिवेशनमा सभापतिको चुनाव लडेका कारण दोस्रो बरीयता मागेको नेताहरूले बताएका छन्। त्यसैगरी प्रकाशमान सिँहले पनि बरीयतामै चित्त नबुझाएको बताइएको छ।
सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन् ।
अहिले पूर्णबहादुर खड्का दोस्रो बरीयतामा छन्। देउवापछि उत्तराधिकारीका रुपमा सबै नेताहरूले दाउ हेरिरहेका पार्टीका कार्यकर्ता बताउँछन्।
पार्टीका अर्का नेता कृष्ण सिटौला पनि पार्टीको नेतृत्वका लागि दाउमा रहेका बताइन्छ। राष्ट्रिय सभामा सांसद भएपछि केही समय ओझेलमा परेका सिटौला पनि अहिले देउवापछिको बरीयताको खोजीमा रहेका बताइन्छ।
अर्का नेता शशांक कोइराला पनि देउवाको समर्थन पाउन विराटनगरमै रहेका छन्। उनी पनि दोस्रो बरीयताको खोजीमा छन्।
सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ। कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो।