रोहितको कीर्तिमानी रन, लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले कीर्तिमानी ९५ रनको योगदान गरे ।

उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । जारी एनपीएलमा कुनै पनि खेलाडीले हानेको यो सर्वाधिक रन हो । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले ७५ रन बनाएका थिए ।

लुम्बिनीका लागि टोम मोरेसले ४५ रनको योगदान गर्दा सन्दीप जोराले १८ रन जोडे ।

बलिङतर्फ पोखराका लागि विपिन खत्रिले दुई विकेट लिए । आजको खेलमा पोखरा जित्नै पर्ने दबाबमा छ । पोखराले तेस्रो खेल खेल्दै गर्दा यसअघि दुई खेलमा पराजित भएको थियो । यता लुम्बनी पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।


क्लिकमान्डु