कर्णाली याक्सको संघर्षपूर्ण पहिलो जित, शिखर धवनले बनाए ४५ रन
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । कर्णालीले अन्तिम ओभरमा एक बल बाँकी छदा जीत निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा चार विकेट गुमाउँदै १३२ रन बनायो । कर्णालीका लागि ओपनर शिखर धवनले सर्वाधिक ४५ रन बनाए । त्यस्तै चाडविक वाल्टनले ३० रन बनाए ।
बलिङतर्फ चितवनका लागि कुशल मल्ल, जन निकोल र रवी बोपराले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो ।
चितवनका लागि रवी बोपराले ४० बलमा ७ चौका र १ छक्का सहित ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान कुशल मल्लले २३ रन बनाए । कर्णालीका लागि विपिन शर्माले तीन विकेट लिए । त्यस्तै जिसन मक्सुदले दुई विकेट लिए ।
कर्णालीले प्रतियोगितामा पहिलो जित निकाल्दै तीन खेलबाट २ अंक जोडेको छ । यता चितवनको यो पहिलो हार हो । चितवनले तीन खेलबाट ४ अंक जोडेको छ ।