चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता, पत्रकार सम्मेलनमा के भने ? (LIVE)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे । प्रधानमन्त्री ओलीलाई स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यहीँ मङ्सिर १७ गते चीन प्रस्थान गरेका थिए ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । साथै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । उनको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षर समेत भएको छ ।