चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन्: प्रधानमन्त्री ओली



बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएको बताएका छन् ।

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावासले बुधबार बेइजिङमा आयोजना गरेको रिसेप्सन समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताए ।

उनले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीन जस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धि गरी समृद्धिको यात्रामा अगाडि बढिरहेको सन्दर्भमा सन् २०२५ मा धेरै ठूलो संख्यामा चिनियाँ पर्यटन नेपाल ल्याउने गरी तयारी भएको पनि जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चीनका व्यावसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको पनि प्रतिक्रिया दिएका थिए । ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास गरेको पनि उल्लेख गरे ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लैजान बल पुगेको बताएकी थिइन् ।

चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले दुई देशको पारस्परिक विश्वास र समझदारी वृद्धि गर्न भ्रमण सफल रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो ।


क्लिकमान्डु