जर्मनीका रेस्टुरेन्टमा कामदार अभावपछि रोबोटले खाना पकाउँदै
एजेन्सी । जर्मनकीको एक सहर ह्यामबर्गमा थुप्रै उद्योग कलकारखाना र रेस्टुरेन्टहरु छन् । तर पछिल्लो समय ती उद्योगहरुमा कामदारहरुको कमी देखिन्छ । यसको असर यहाँको अर्थव्यवस्थामा पनि परेको बताइन्छ ।
यससँगै विज्ञान प्रविधिको भने चलाखीपूर्ण तरिकाले प्रयोग गर्न थालिएको छ । सहरको हाइवेछेउमा एउटा रेस्टुरेन्ट छ ‘होम अफ मोबिलिटी’ । जहाँ मान्छे नभएर रोबोटले खाना पकाउँछ । खानाका लागि ग्राहकले चार प्रकारका व्यन्जन छान्न पाउँछन् । र खानाको मूल्य कम्तीमा १२ यूरोदेखि सुरु हुन्छ । कामदारहरु ग्राहकले अर्डर दिएको खानाका लागि आवश्यक सामग्री रोबोटमा लोड गर्छन् । त्यसपछि रोबोटले आफैं खाना बनाएर ग्राहकलाई सर्भ गर्न थाल्छ ।
यससँगै रोबोटले २४सै घन्टा फोहोर भाँडाहरु डिवासरमा राखिदिन्छ । रोबोटले हरेक दिन ३ हजार वटा अर्डर तयार पार्नसक्ने बताइन्छ । जर्मन रेस्टुरेन्टहरुमा पछिल्लो समय कामदारहरुको व्यापक रुपमा कमी देखिन थालेको छ ।
तथ्यांक अनुसार जर्मन रेस्टुरेन्टहरुमा करिब ९ हजार सीपयुक्त कामदारहरुको आवश्यकता रहेको छ । जसमध्ये ३ हजार ५ सय जना सेफको आवश्यक देखिन्छ । यस्तो अवस्थामा रोबोट उपयोगी हुने विज्ञहरु बताउँछन् ।
रेस्टुरेन्ट मालिकहरु पनि कामदारको कमी भइरहँदा रोबोटको उपयोग व्यवहारिक हुने बताउँछन् । कतिपय रेस्टुरेन्ट मालिकले रोबोटलाई खाना पकाउने, सर्भ गर्ने र भाँडा माझ्ने काममा लगाउन थालेको पाइन्छ । गुडबाइट्सका संस्थापक तथा स्टार्टअप उद्यमी केभिन डोइटमाग पनि रोबोटको उपयोग समयानुकुल गर्नसकिने बताउँछन् ।
केभिन भन्छन्, ‘यसको मतलब अब रेस्टुरेन्टहरु पहिले जस्तो हुँदैनन् भन्ने हैन । र सम्पूर्ण कुकिङ स्वतस्फुर्त रुपमा हुन्छ भन्ने पनि हैन । के मात्रै हो भने हामी केवल हरेक दिन खानासँगै सकारात्मक सन्देश दिन चाहन्छौं । ताकि तपाइँहरु ताजा पकाइएको खाना खान सक्नुहोस् । युवापिँढीका लागि अब टिकटक भिडियो अहिले नै बनाउन सकिन्छ । तर भान्सामा बसेर ८ देखि १० घन्टासम्म बसेर पकाउनु व्यवहारिक हुँदैन ।’
कतिपय रेस्टुरेन्ट संचालकहरुले कामदारको कमी हुन थालेपछि रोबोटलाई नै खाना पकाउने लगायत काममा प्रयोग गर्ने तयारी गरिरहेको पनि बताउन थालेका छन् ।
रोबोटको यस्तो उपयोग यही पहिलो भने हैन । केही वर्षअघि फ्रान्सको पूर्ण रुपमा स्वचालित पिज्जा मेकरको विषयमा विवाद पनि भएको थियो । स्विस कम्पनी सेबोटिक्सले बनाएको यो रोबोट हस्पिटालिटी क्षेत्रमा पनि निकै उपयोगी मानिन्छ । जहाँ कर्मचारीको कमी छ त्यहाँ रोबोटले सहज रुपमा खाना वा पेय पदार्थ सर्भ गर्न सक्छ ।
अब रोबोटलाई पनि अझै परिस्कृत गर्नुपर्ने भन्दै यसमा थप खोजी गरिरखेको बताउँछन् केभिन । खाना पकाउने तरिका लगायत अन्य सीप पनि रोबोटमा राख्ने विषयमा सोचिराखेको उनी बताउँछन् ।