केन्द्रको निर्देशन उल्लंघन गर्दै कोशी कांग्रेसमा कोइराला पक्षको भेला
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहको पालिका सभापति भेला विराटनगरमा आयोजना भएको छ । संस्थापन पक्षले आगामी शनिबार विराटनगरमा आयोजना गर्ने तयारी गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई चुनौती दिन शेखर कोइराला समूहले यस्तो भेला आयोजना गरेको हो ।
भेलामा कोइरालाले पार्टी भित्र मौलाएको गुटउपगुट र नेतृत्वमा पुगेकाहरुले पार्टीको तल्लो तहका कार्यकर्ताहरुलाई गर्ने व्यवहार सम्मानजनक नभएको बताउँदै पार्टीको १५ औं महाधिवेशनपछि त्यसको अन्त्य गरिने उल्लेख गरे । तर नेतृत्व समयमै महाधिवेशन गर्ने पक्षमा नरहेकाले सबैले समयमा महाधिवेशन गर्न नेतृत्वलाई दवाव सृजना गर्नुपर्ने उल्लेख गरे । कोइरालाले संविधान संशोधन गर्ने गरी गठन भएको सरकारले त्यसतर्फ पहलकदमी नै नलिएको बताए ।
नेपाली कांग्रेस विराटनगर नगर समितिको संयोजनमा भएको कोशी प्रदेश स्तरिय आफूपक्षीय पालिका सभापतिहरुको भेलामा उनले पालिकामा सुशासन कसरी गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर पालिका सभापतिहरुलाई आह्वान गरेर प्रशिक्षण कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेसको संगठनलाई मजवुद बनाउने उद्देश्य राखिएको बताए ।
सरकार बनेको चार महिना बितिसक्दा पनि संविधान संसोधनका विषय छलफल हुन नसकेको उनले उल्लेख गरे । कोइरालाले २०८३ को मंसिरसम्म १५ औं महाधिवेशन हुने सम्भावना नदेखेको बताउँदै अधिवेशन समयमा हुनुपर्छ भनी गाउँगाउँमा भन्नु जरुरी र दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए । पार्टीका कार्यकर्ताहरुको संरक्षण आफूले गर्ने उनको प्रतिबद्धता थियो ।
पार्टी केन्द्रिय कार्यालयबाट मंसिर १८ गते अन्य कुनै भेला पार्टीले आयोजना नगरेको उल्लेख गर्दै कार्यक्रम रोक्न खोजेपनि कार्यक्रम भव्यरुपमा सम्पन्न भएको नेताहरुले उल्लेख गरे । तर उक्त भेलामा पार्टीको संस्थापन पक्षका जिल्ला, प्रदेश र केन्द्रीय तहका एकजना पनि चिनिएका नेता कार्यकर्ताको उपस्थिति भने थिएन ।
यस कार्यक्रम सहभागि भएका कार्यकर्ताहरु माथि कसैले केही गर्न नसक्ने बताउँदै त्यसको संरक्षण आफूले गर्ने कोइरालाले बताए । ‘कुनै किसिमको डर, धाक, धम्कीबाट तपाईहरु नआत्तिनोस् निस्फिक्री भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु,’ उनले भने ।
भेलामा कोशीका १३७ पालिका मध्ये ११३ पालिका सभापतिको सहभागीता रहेको दावी गरिएको छ । पालिका र महानगरका सभापतिका लागि विधान अधिकार खुम्चिएको र उनीहरूको माग सम्बोधन गर्न आफू तयार रहेको कोइरालाले बताए ।
कार्यक्रममा पार्टीलाई मजबुत बनाउँदै जवाफदेही नेतृत्वको आवश्यकता रहेको र पार्टीलाई निस्क्रीय बनाउन नहुने नेता मिनेन्द्र रिजालले बताए । उनले ‘देउवालाई दोष नदिउँ, आन्तरिक समस्याका लागि वार्ता गरौं, बजारमा छरपस्ट नगरौं’ भन्दै आगामी नेतृत्वले निषेध नभई प्रतिस्पर्धाको राजनीती गर्न जरुरी रहेको बताए । उनले संवाद हिनतालाई तोड्नु पर्ने र सभापतिलाई देखाएर कटुताको राजनीति नगर्न नेतृत्वलाई आग्रह गरे ।