२६ वटा ल्यापटपसहित शृङ्खलाबद्ध रुपमा चोरी गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं । ललितपुरका विभिन्न स्थानहरूमा शृङ्खलाबद्ध रूपमा ल्यापटप चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ स्थायी घर भई काठमाडौं भोटेबहालमा बस्दै आएका २५ वर्षीय हिमाल रसाइली र डडेलधुराको बागेश्वर गाउँपालिका–१ का २९ वर्षीय भोबहादुर थलाल रहेका छन् ।
उनीहरूलाई ललितपुर जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिकाको ३, ४, १० र १५ वडाका विभिन्न स्थानहरूमा विभिन्न मितिमा ल्यापटप चोरी भएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। कोही नभएको मौका पारेर होस्टल, अफिस, र घरका कोठाहरूबाट ल्यापटप चोरी हुने गरेको उजुरी परेका थिए ।
अनुसन्धानपछि पक्राउ परेका रसाइलीमाथि यसअघि ८ पटक चोरी र ५ पटक अभद्र व्यवहारका मुद्दा दर्ता भइसकेका छन्। कुल १३ पटक मुद्दा खेपिसकेको यो व्यक्तिबारे ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिएका छन् ।
त्यस्तै, थलालमाथि यसअघि काठमाडौंमा १ पटक चोरीको मुद्दा दर्ता भएको खुलेको छ ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले २६ थान चोरीका ल्यापटपहरू बरामद गरेको छ ।