सडक सौन्दर्यीकरणका लागि विराटनगर महानगरलाई नविल बैंकको २ लाख सहयोग
विराटनगर । विराटनगरको बरगाछी–रानी सडक खण्डको सौन्दर्यीकरणकालागि नविल बैंकको कोशी प्रदेश कार्यालयले महानगरलाई २ लाख रुपैयाँ सहयोग गरको छ ।
बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठ, विराटनगर शाखा प्रमुख समीर श्रेष्ठ र त्यही शाखाकी डीआरएम सृष्टि ओझाले महानगरका मेयर नागेश कोइरलालाई सामुहिक रुपमा दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत बरगाछी–रानी ५ किलोमिटर सडक सौन्दर्यीकरण परियोजनाका लागि वित्तीय संघसस्थावाट सहयोग थाप्दै आएको छ । त्यसैक्रममा नविल बैंकले पनि उक्त सहयोग गरेको हो ।
यो अभियान अन्र्तगत महानगरलाई हालसम्म २४ लाख ५० हजार रुपैयाँ उपलब्ध भइसकेको महानगरले जनाएको छ । यसअघि विभिन्न १३ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट २२ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो ।
उक्त सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।
महानगरको आग्रहमा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् ।
हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको महानगरका सौन्दर्यकरणको संयोजक पुनमकुमार दाहालले जानकारी दिए ।
बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ ।
नविल बैंकको कोशी प्रदेशमा रहेका ४० शाखा मध्ये ५ वटा विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित छन् । प्रदेश प्रमुख श्रेष्ठले आगामी दिनमा पनि महानगरको अभियानमा बैंकको साथ रहने प्रतिबद्धता जनाए ।
महानगरले गठन गरेको आर्थिक संकलन समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो ।
प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् ।