उत्तर जोड्ने तातोपानी नाका: चहलपहल बढ्दै, चीनको मुख ताक्दा हरिबिजोक पूर्वाधार (भिडियो स्टोरी)



तातोपानी (सिन्धुपाल्चोक) । ‘उता चिनियाँहरुले सामान लैजान ‘इम्पोर्ट जोन’सहित शहर नै बनाइसके । ‍नेपालतिर बाटो पनि हिँड्नै नसक्ने तालको छ,’ नेपाल चीन सीमा नजिकै तातोपानीका एक स्थानीय भन्दै थिए, ‘चिनियाँहरुलाई निर्यात गर्न परे नाका चलेको हो । नत्र के चल्थ्यो ।’

२०७२ वैशाख १२ गते आएको भूकम्प र त्यसपछि बाढी पहिरोका कारण खण्डहर बनेको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी सञ्चालनमा आए पनि अझै नयाँ जीवन पाउन सकेको छैन । चीनसँग जोडिएको पहिलो नाका भूकम्प गएको ९ वर्षमा पनि पुनर्निर्माणको काम हुन सकेको छैन । चिनियाँहरुले आफ्नो भूमितर्फ शहर नै विकास गर्न लागिसके पनि नेपालतिर भने भएका संरचनाहरु समेत खण्डहर अवस्थामा छन् ।

नाकासम्म जोड्ने लाइफलाइन अरनिको राजमार्ग ठाउँ ठाउँमा भत्किएको छ । चिरा परेको छ । जोखिमपूर्ण अवस्थामा छ । राजमार्ग जोखिमपूर्ण रहेकै कारण यो राजमार्ग हुँदै तातोपानीसम्म पुग्ने बस सञ्चालनमा रोक लगाएको छ । लार्चामा ह्युम पाइप राखेर राजमार्ग चलाइएको छ । यो राजमार्ग भएर अहिले सामान आयातका लागि कन्टेनरहरु मात्रै चल्छन् । नाकाबाट लर्को लागेर चिनियाँ सामान बोकेका कन्टेनरहरु आइरहेका छन् ।

सीमामा नेपालतर्फ अध्यागमन र सुरक्षा निकायका संरचनाबाहेक केही पसलहरु मात्रै छन् । भूकम्प अघिसम्म भाइब्रेन्ट यो नाका वरिपरिका होटलहरु भरि भराउ हुन्थे । चिनियाँ खासा बजारसम्म सामान किन्न जान पाइने भएकाले ठूलो संख्यामा मानिसहरु पुग्थे । प्राकृतिक रुपमा रहेको तातोपानीमा डुबुल्की मार्न मानिसहरु पुग्थे ।

तर अहिले भूकम्प र बाढी पहिरोका कारण यहाँका अधिकांश घरहरु भग्नावशेष अवस्थामा छन् । भिरालो स्थानमा बजार विकास गरिएका कारण भूकम्प र बाढीपछि धेरै मानिसहरुले यो ठाउँ छाडेका हुन् ।

भूकम्पपछि यो नाका सञ्चालनमा आए पनि मानिसहरुलाई आवतजावतमा रोक लगाइयो । कन्टेनरहरु सामान लिन जान मात्र पाउने भए । पछिल्लो समय तातोपानीमा चहल पहल भने बढिरहेको छ । चीनबाट सामान आयात गर्नेहरुका कारण चहलपहल बढेको हो । सिन्धुपाल्चोकका स्थानीयहरुलाई सीमापारीसम्म सामान किन्न जान दिइने भएकाले चहलपहल बढ्न थालेको स्थानीयहरु बताउँछन् ।

चीनको मुख ताक्दा अरनिको राजमार्ग अलपत्र!

सरकारले चीनको मुख ताकेर बसेका कारण भत्किएको राजमार्ग पुननिर्माण हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा चिनियाँ सरकारले बनाइदिने प्रतिबद्धता जनाएकाले छलफल चलिरहेको बताउँछन् । चिनियाँ पक्षले टुंगो लगाउने बित्तिकै पुन:निर्माणको काम सुरु हुने उनको भनाई छ । चिनियाँ पक्षको चासो नभएको भए नेपालले नै बनाउने उनको भनाइ छ ।

बाह्रबिसे देखि सीमानासम्मको सडक पुन:निर्माण गरिदिन नेपाल सरकारले चीन सरकारलाई अनुरोध गरेको छ । सोमबारदेखि चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एजेण्डामा समेत अरनिको राजमार्ग पुन:निर्माणका लागि अनुरोध गर्ने उल्लेख छ । धुलिखेलदेखि कोदारीसम्म यो राजमार्ग करिब ८२ किलोमिटर रहेको छ । हिउँदमा सञ्चालन भए पनि बर्खामा यो नाका सञ्चालन गर्न सकिने अवस्था छैन ।

निर्यात शून्य

तातोपानी भन्सार कार्यालयका अनुसार यो नाकाबाट अहिले तयारी पोशाक, विद्युतीय गाडी (ईभी), विद्युतीय उपकरण, लसुन, प्याज, स्याउलगायतका सामानहरु आयात भइरहेका छन् । नाकाबाट निर्यात भने शुन्य छ ।

गत वर्ष ८ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा १३ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको थियो । यो १५८.०५ प्रतिशत हो ।

चालु वर्ष २१ अर्ब ७३ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार मंसिर १६ गतेसम्म ६ अर्ब ७६ करोड २४ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यो कुल लक्ष्यको ३१.११ प्रतिशत हो ।

यो नाका भएर करिब डेढ वर्ष पहिले नेपालबाट बासको मुढालगायतका सामानहरु गएको भएपनि अहिले निर्यात शुन्य रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख कमल कुमार भट्टराइ बताउँछन् ।

उनका अनुसार यो नाकाबाट दुईदेशबीच व्यापार गर्ने ठूलो सम्भावना भएपनि कमजोर खालको सडक पूर्वाधार छ । उनले भन्सार कार्यालयले निर्यात गर्न सहजीकरण गरिरहेको बताए । ‘हामीले नै बेच्ने होइन् । निर्यात गर्ने सामानहरु नै छैन् । व्यापारिहरुले पठाएकै छैनन्,’ भट्टराइले भने, ‘चिनियाँहरुले इमपोर्ट जोन नै बनाएकाले सामान लैजाने बताएका छन् । इम्पोर्ट जोन हेर्न गएको चाहि छैन् । मैले सामान लैजान अनुरोध भने गरिरहेको छु ।’ उनका अनुसार चिनियाँहरुले आफ्नो भु-भागतिर व्यापारका लागि संरचना बनाइरहेको र नेपालतिरसमेत संरचना बनाउन सहयोग गरिरहेको छ ।

२०० भन्दा बढी ईभी बन्दरगाहको यार्डमा,गाडीमै घास उम्रियो

पछिल्लो समय यो नाका हुँदै ईभी आयात बढिरहेको छ । चिनियाँ ईभीको माग नेपाली बजारमा बढेपछि आयात बढेको हो । अहिले नेपालमा चिनियाँ ईभीको बाढी छ । सुक्खा बन्दरगाहको यार्डमा २०० भन्दा बढी ईभी थन्किएका छन् । कम्पनीहरुले समयमा नै भन्सार जाँचपास गरेर नल्याएका कारण र्याडमा थन्किएका हुन् । केहि कारमा घास समेत उम्रिन थालेको छ । धेरैमा माकुराले जालो बुनेको छ । बन्दरगाहको यार्डमा जसमा दिपाल, ओमोडा, नामी, जिकरलगायतका ब्राण्डका कारहरु छन् ।

चीन सरकाको अनुदान सहयोगमा लार्चामा सुविधासम्पन्न सुक्खा बन्दरगाह निर्माण भएको छ । सुरुमा ८५ करोड रुपैयाँमा निर्माण थालिएको यो बन्दरगाह निर्माण पूरा नहुँदै भूकम्पले क्षति पूर्‍यायो । चीन सरकारकै सहयोगमा करिब २ अर्ब रुपैयाँ खर्चेर पुन: यो बन्दरगाह तयार भयो । अहिले भोटेकोसीमा आएको बाढीले यो बन्दरगाहको एउटा छेउमा क्षति पूर्‍याएको छ ।

अहिले त्यसमा सर्वे गरेर पुन:निर्माण गर्न लागिएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर आशिष गजुरेल सर्वे, अध्ययनको काम सकेपछि पुन:निर्माणको काम हुने बताउँछन् । उनका अनुसार सुक्खा बन्दरगाहले दुई देशको व्यापारका लागि सहजीकरण हुने बताउँछन् । अहिले यो बन्दरगाह निजी क्षेत्रले सञ्चालन गरिरहेको छ । ट्रान्ससिल्क टर्मिनलले यो बन्दरगाह सञ्चालन गरिरहेको छ ।

सीमादेखि नेपालतर्फ ६.५ किमीमा सुक्खा बन्दरगाह निर्माण गरिएको छ । ९० रोपानीमा फैलिएको यो बन्दरगाह छ । यो बन्दरगाह विस्तार र अझै आधुनिकीकरण गर्न लागिएको छ ।

तस्बिर/भिडियो: रवि धिताल


दिनेश खड्का