रविको पासपोर्ट दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा



काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा पेसीमा चढेको छ ।

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा पेसीमा मुद्दाको सुनुवाइ हुँदै छ ।

युवराज सफलले महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो । तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ मा मुद्दा नचल्ने निर्णय गरेका थिए ।

सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।


क्लिकमान्डु