समलिंगीप्रति कठोर मानिने ट्रम्पको सरकारमा पहिलो ‘गे’ अर्थमन्त्री, को हुन् स्कट बेसेन्ट ?



एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले हालै अमेरिकाको अर्थमन्त्रीमा स्कट बेसेन्टलाई नियुक्त गरेका छन् । स्कटले राष्ट्रपति निर्वाचनमा ट्रम्पको आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए ।

साथै अर्बपतिसमेत रहेका स्कटले ट्रम्पको निर्वाचन अभियानका लागि अर्बौं डलर संकलन समेत गरेका थिए । मंगलबार अर्थमन्त्रीको रुपमा नियुक्त गर्दै ट्रम्पले स्कट विश्वभर एक सम्मानित व्यक्ति हुनुका साथै अन्तर्राष्ट्रिय लगानीकर्ता रहेको भन्दै प्रशंसा गरेका छन् ।

साथै ट्रम्पले भन्दैआएको ‘अमेरिका फर्स्ट’ अभियानको पक्षमा स्कटले सक्रिय रुपमा लामो समयदेखि वकालत गर्दैआएका छन् । स्कटलाई अर्थमन्त्रीमा नियुक्त गर्दै ट्रम्पले उनले सबै अमेरिकी नागरिकलाई बलियो बनाउने आफ्नो अभियानमा सहयोग गर्ने बताएका छन् ।

को हुन् स्कट ?

६२ वर्षीय स्कट फ्रेन्च मूलका अमेरिकी नागरिक हुन् । उनले १९८४ मा अमेरिकाको प्रसिद्ध एले युनिभर्सिटीबाट राजनीतिशास्त्रमा स्नातक गरेका थिए । उनका बाबु होमर जुनियर प्रख्यात रियल स्टेट व्यवसायी थिए ।

एले युनिभर्सिटीमा अध्ययन गर्दा स्कट त्यहाँबाट प्रकाशन हुने ‘द एले डेली न्युज’को सम्पादकको रुपमा काम गरेका थिए ।कलेजको पढाइपछि स्कटले सोरोस फन्ड मेनेजमेन्टका सहसंस्थापक जिम रोजरसँग इन्टर्न गरेका थिए । उनले १९९० मा जर्ज सोरोसले सुरु गरेको सोरोस फन्डमा काम गर्न थाले । र पछि लन्डन कार्यालयको प्रमुख पनि बने ।

उनी २०११ देखि २०१५ सम्म सोरोस फन्ड मेनेजमेन्टको चिफ इन्भेस्टमेन्ट अफिसरको रुपमा काम गरे । २०१५ मा सोरोस फन्ड छाडेपछि उनले नयाँ इन्भेस्टमेन्ट फर्म ‘की स्क्वायर ग्रुप’ सञ्चालन गर्न थाले ।

बेसेन्टले माइकल जरम्मिनोसँग मिलेर २०१५ मा की स्क्वायर ग्रुप खोलेका थिए । कि स्क्वायरले विश्वभर ठूला लगानी गर्दैआएको छ । जसले जर्ज सोरोसबाट २ अर्ब अमेरिकी डलर लगानी प्राप्त गरेको छ । २०१७ को अन्त्यसम्म यो कम्पनीले ५ अर्ब १० करोड अमेरिकी डलर पूँजी कमाइसकेको थियो ।

सन २००० मा बेसेन्टले बील क्लिनटनको कार्यकालमा उपराष्ट्रपति बनेका एल गोरका लागि चुनावी अभियानमा फन्ड रेजिङ अभियान चलाउन थाले । बेसेन्टले डेमोक्रेट्सका उम्मेदवार हिलारी क्लिन्टन र बाराक ओबामाको लागि पनि चुनावी अभियानमा आर्थिक सहायता संकलन गरेका थिए । २०१६ मा भने ट्रम्पको चुनावी अभियानमा १० लाख डलर सहयोग गरेका थिए ।

२०२३ र २०२४ मा बेसेन्टले ट्रम्पका लागि १० लाख डलर आर्थिक सहायता गरेका छन् । फेब्रुअरीमा बेसेन्टले ग्रिनभिल्ले साउथ क्यारोलिनामा ट्रम्पका लागि ७० लाख डलर सहायता संकलन गरेका थिए ।

बेसेन्ट एले युनिभर्सिटीको अलमुनाइका अध्यक्ष पनि हुन् । विश्वप्रसिद्ध विश्वविद्यालय एलेमा उनले पुस्तकालय खोलिदिनुका साथै ३ वटा छात्रवृत्ति पनि स्थापना गरेका छन् । २०२२ मा उनले दुईवटा फउन्डेसन स्थापना गरे । जसबाट परोपकारी कामहरु पनि गर्दैआएका छन् ।

स्कटको निजी जीवन

स्कट साउथ क्यारोलिनामा आफ्ना पति र दुई सन्तानसँगै बस्दै आएका छन् । उनी लैंगिक रुपमा समलिंगी हुन् । र आफ्ना पति (पार्टनर) जोन फ्रिम्यानसँग बस्दैआएका छन् ।

साथै सेरोगेसीको माध्यमबाट उनीहरुले दुई सन्तान जन्माएका छन् । जोन फ्रिम्यान भने न्युयोर्कस्थित अदालतका पूर्व अभियोजक हुन् । र फ्रिम्यान पूर्वसांसद जोन जेनरेटका भतिजा पनि हुन् ।

रोचक के छ भने समलिंगीहरुको लैंगिक अधिकारप्रति कठोर मानिएका डोनाल्ड ट्रम्पले अर्थमन्त्रीमा यस्ता व्यक्तिलाई नियुक्त गरेका छन् जो लैंगिक रुपमा समलिंगी हुन् । साथै अमेरिकी सिनेटले स्कटको नाम पारित गरेपछि उनी पहिलो ‘गे’ अर्थमन्त्री बन्नेछन् । जुन विषयले अमेरिकी राजनीतिमा चर्चा पाइरहेको छ ।

जवकि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकामा थुप्रै समलिंगी नेताहरुलाई लक्षित गर्दै व्यक्तिगत गालीगलौज गरेका थिए । यसवाहेक अमेरिकामा निकै चर्चा पाएको र विवादित बनेको गर्भपतनको मुद्दा पनि लैंगिक अधिकारसँग जोडिएको छ । जसको विपक्षमा ट्रम्प थिए ।

यसैगरी विश्वभर अमेरिकी राजदूतावासहरुमा गाडिएका एलजीबीटीआईक्यु फ्ल्याग हटाउन ट्रम्पले यसअघि जो बाइडेनको सरकारलाई निकै दबाब समेत दिएका थिए ।

स्कटले जोन रेभेनेलको स्वामित्वमा रहेको ऐतिहासिक जोन रेभेनेल हाउस २०१६ मा खरिद गरेर त्यहीँ बस्दैआएका छन् । उक्त ऐतिहासिक घरलाई पुनर्निर्माण गरेर स्कटको समलिंगी जोडी बस्दै आएपछि त्यस घरलाई पिंक प्यालेस पनि भन्न थालिएको छ ।


क्लिकमान्डु