सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै
काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ ।
जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि पोखराबाट ल्याउन लागिएको हो ।
उनलाई आज बिहान ८:४० बजेको बुध्द एयरको उडानबाट काठमाडौं ल्याउने तयारी गरिएको प्रहरी स्रोतको भनाइ छ ।
काठमाडौंको माइतीघरस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेलाई ल्याएर बयान लिइनेछ ।
गत आइतबार लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएसँगै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धानका लागि बाटो खुलेको थियो ।
यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि उक्त फाइल जिल्ला प्रहरी परिसरले कालीमाटीबाट झिकाएर अनुसन्धान अघि बढाएको हो ।
स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए ।
जीबी राई अध्यक्ष रहेको उक्त सहकारीमा रास्वपा सभापति रविलामिछानेसहितले रकम अपचलन गरेको प्रहरीले भौचरसमेत फेला पारेको छ।
स्वर्णलक्ष्मीबाट जीबी र रविले दुई पटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको प्रहरीले जनाएको छ।
२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ ।
‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार ऋण लिएका छन् ।
दुई पटक गरी जम्मा ९३ लाख ८६ हजार ऋण लिएका थिए । उनीहरूले ६१ लाख ७३ हजार फिर्ता गरेका छैनन् । गैर कानुनी हिसाबले जीबी र लामिछानेको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले फेला परेको जनाइएको छ ।
लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि यसअघि रुपन्देही लगिएको थियो ।
लामिछानेले हिरासतबाटै सोमबार राति आफूमाथि सरकारी वकिलको कार्यालयबाट पनि षड्यन्त्र भएको आरोप लगाउँदै लामो सन्देश सार्वजनिक गरेका थिए । लामिछानेलाई काठमाडौंमा बयानका लागि कम्तीमा ३ दिन राख्ने तयारी गरिएको छ ।
कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछाने त्यसयता कास्की प्रहरीको हिरासतमा छन् । पछिल्लो पटक लामिछानेलाई कास्की जिल्ला अदालतले मंसिर ९ गते १५ दिनका लागि म्याद थप गरिएको छ ।