स्थानीय तह उपनिर्वाचन: आज मनोनयन दर्ता, आजैदेखि आचारसंहिता लागू
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । आइतबारदेखि नै निर्वाचन आचारसंहिता लागू हुँदैछ ।
२०७९ को निर्वाचनपछि रिक्त रहेका विभिन्न स्थानीय तहका प्रतिनिधि चयनका लागि निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।
नगरपालिका प्रमुख र उपप्रमुख १/१ जना, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३४ जना छान्न उपनिर्वाचन हुन लागेको हो ।
स्थानीय तहका प्रतिनिधिहरु कानुनी कारबाहीमा पर्नुका साथै विदेश गएर उतै बस्ने वा निधनको अवस्थामा ती तहमा उपनिर्वाचन गरिन्छ । यसका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आइतबार साँझ ५ बजेदेखि ६ बजेसम्म प्रकाशन गरिने पनि बताइएको छ । साथै उम्मेदवारविरुद्ध विरोध वा उजुरीका लागि मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय छुट्याइएको छ । र मंसिर ५ गते उम्मेदवारीको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ ।
यस उपनिर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपकालिकामा प्रमुखको निर्वाचनलाई निकै चासोको रुपमा हेरिएको छ । यसका लागि विभिन्न दलहरुले आफ्नो उम्मेदवार तोकिसकेका छन् ।
यसैगरी दैलेख महाबु गाउँपालिका अध्यक्ष, मोरङ ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ ।
यसैगरी जाजरकोट नलगाड नगरपालिकामा उपप्रमुख, दोलखा गौरीशंकर गाउँपालिका, रुकुम (पूर्वी भाग) पुथा उत्तरगंगा गाउँपालिका, हुम्ला सर्केगाड गाउँपालिका र बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचनबाट उपाध्यक्षको निर्वाचन हुनेछ ।
उम्मेदवारी मनोनयनको दिनदेखि नै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्दैछ । निर्वाचन नसकिएसम्म आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।