विदेशीलाई नेपालमा पनि ‘स्टुडेन्ट भिसा’ दिँदैछौं: परराष्ट्रमन्त्री राणा



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले विदेशीहरुलाई पनि नेपालका लागि विद्यार्थी भिसा दिने घोषणा गरेकी छन् । नेपाली विद्यार्थीहरु नेपालको भन्दा पनि कमसल विश्वविद्यालयमा अध्ययन गर्न गइरहेको स्मरण गर्दै मन्त्री राणाले विदेशीहरुलाई नेपालमा अध्ययनका लागि ल्याउने सरकारको तयारी रहेको बताइन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । मन्त्री राणाले मालदिभ्समा गएको बेला त्यहाँका एक मन्त्रीले आफूलाई विशेष भेट गरेर यसबारे चासो गरेको पनि बताइन् ।

विशेषगरी विदेशी विद्यार्थीहरु नेपालमा मेडिकल अध्ययनका लागि आउन इच्छुक रहेको जानकारी दिँदै उनले यस्तो बताएकी हुन् । ‘म माल्भिद्स गएको बेला त्यहाँका एक मन्त्रीले मलाई भेटेर नेपालमा मेडिकल अध्ययनका लागि हामी पनि विद्यार्थी पठाउन चाहन्छौं भन्नुभएको थियो । हामी यसका लागि काम गर्दैछौं,’ मन्त्री राणाले भनिन् ।

यद्यपि मन्त्री राणाले यसका लागि तयारी कुन अवस्थामा पुगेको छ र कसरी तयारी भइरहेको छ भन्ने विषयमा कुनै विवरण दिएकी छैनन् । नेपालमा पर्यटक भित्र्याउन सरकारले पहल गरे पनि त्यसमा उल्लेख्य उपलब्धि हुन नसकेको सन्दर्भमा बहस भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

हालसम्म बंगलादेश र भारतबाट भने चिकित्सा अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । तर अन्य एसियाली देशहरुबाट नेपालमा अध्ययनका लागि ‘स्टुडेन्ट भिसा’को प्रावधान नभएकाले विदेशी विद्यार्थी आउन ढोका खुलेको छैन ।

जवकि नेपालबाट हरेक वर्ष कम्तीमा १ लाख विद्यार्थीहरु विदेशी विश्वविद्यालयमा अध्ययनका लागि विदेश जाने गरेका छन् । मन्त्री राणाले भने विदेशीहरुलाई पनि नेपालमा अध्ययनका लगि आउने ढोका खोल्दा विदेशी पर्यटकको संख्या बढ्नसक्ने संकेत गरेकी थिइन् ।


क्लिकमान्डु