एमालेद्वारा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई संगठित सदस्यबाट निलम्बन
काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई संगठित सदस्यबाट निलम्बन गरेको छ।
शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।
खतिवडाले विज्ञप्तिमा मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा उनीमाथि शिघ्र छानबिन तथा अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसमक्ष माग गरे। गम्भीर प्रकृतिका अनियमितताका घटनाहरूलाई ढाकछोप वा हल्का बनाउने प्रयास भइरहेको कुराले पार्टीको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष खतिवडाले बताए।
‘नेकपा (एमाले) को तर्फबाट मोरङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभाका सदस्य तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय लिलाबल्लव अधिकारीले मन्त्रीको हैसियतमा केही दिन अगाडि वैदेशिक भ्रमण सम्बन्धीका आवश्यक मापदण्ड तथा प्रक्रियाहरू समेतको बेवास्ता गरी पदीय मर्यादाविपरीत जापानको भ्रमण गर्नु भएकोमा वहाँलाई पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा गराई सकिएको कुरा सबैमा सार्वजनिक भइसकेकै छ।’ विज्ञप्तिमा भनिएको छ,‘मन्त्री पदबाट उहाँले राजीनामा गरेसँगै उहाँको भ्रमणसँग जोडिएर उहाँको भ्रमण दलका सदस्यहरु पक्राउ परि अनुसन्धान भइरहेको अवस्थामा स्वयम् निर्वतमान मन्त्रीमाथि मानव तस्करीको गम्भीर आरोप लगाएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा नेकपा (एमाले) माथि समेत गम्भीर आरोप लगाउँदै अन्य गम्भीर प्रकृतिका अनियमितताका घटनाहरूलाई ढाकछोप वा हल्का बनाउने प्रयास भइरहेको कुराले पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’