पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी, ५ वर्ष जेल सजाय



काठमाडौं । दीपक मनाङेको नामबाट चिनिने गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री राजीव गुरुङलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय तोकेको छ ।

२०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलनमाथि कुटपिट गरेको घटनामा मनाङेलाई अदालतले दोषी ठहर गरेको हो । उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेकोमा उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

तर मनाङेको मागदाबी नपुगेपछि सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । उच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । सोही फैसलालाई सर्वोच्चले सदर गरिदिएको हो ।

मनाङ प्रदेश सभा-२ बाट २०७४ र २०७९ को चुनावमा स्वतन्त्रबाट निर्वाचित मनाङे प्रदेशसभामा भएको सत्ता फेरबदलको फाइदा उठाउँदै पटकपटक मन्त्री बनेका थिए । गठबन्धन बदल्दै मन्त्री बन्दै गरेका मनाङेले केही महिनाअघि मन्त्री बन्न अल्छी लागेको भन्दै राजनीतिक प्रणालीमाथि नै व्यंग गरेका थिए ।

उक्त घटनामा संलग्न मनाङे समूहविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दा नभई कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो ।

सर्वोच्चको यस्तो फैसलासँगै मनाङेले सांसद पद गुमाउन सक्ने कानुनी प्रावधान छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोग ऐन २०७३को दफा १६ अनुसार मनाङे पदमुक्त हुनसक्ने देखिन्छ ।

तर कर्तव्य ज्यानको मुद्दाका दोषीलाई मात्रै यो दफा लागु हुने र ज्यान मार्ने उद्योगको हकमा लागु नहुने पनि कतिपय कानुन व्यवसायीले दाबी गर्छन् । मनाङे विभिन्न कुटपिटका घटनामा संलग्न हुनुका साथै विवादास्पद अभिव्यक्तिका कारण पनि पटक पटक विवादमा आउने गरेका छन् ।

यसअघि गण्डकी प्रदेशको वनमन्त्री भएका बेला ‘मन्त्रालय बिक्री’ गर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए । यसैगरी सांसद रहेकै बेला अर्का एक व्यक्तिमाथि हातपात गरेको पनि भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।


क्लिकमान्डु