भारतले बोलाएन, तर चीनबाट आयो प्रधानमन्त्री ओलीलाई पहिलो विदेश भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देश चीनले डिसेम्बर पहिलो साता (मंसिर तेस्रो साता) का लागि भ्रमणको निम्तो दिएको छ । यद्यपि नेपाल सरकारले यसबारे कुनै निर्णय गरिसकेको छैन ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले यही मंसिर १७ देखि २१ गतेसम्मका लागि भ्रमणको निम्तो पठाएको परराष्ट्र मन्त्रालयको स्रोतले जनाएको छ ।
दक्षिण छिमेकी देश भारतबाट भाजपा नेतृत्वको सरकारले केपी ओली यस पटक प्रधानमन्त्री बनेपछि भ्रमणको निम्तो नदिएका बेला उत्तरी छिमेकी देश चीनबाट निम्तो आएको हो ।
र यही नै प्रधानमन्त्री बनेपछि उनको पहिलो औपचारिक भ्रमण हुनेछ । पछिल्लो समय भारतसँग सम्बन्ध चिसो रहेको चर्चा चलिरहँदा चीनबाट उनलाई भ्रमणको निम्तो आएको छ । प्रधानमन्त्री ओली यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएका थिए ।
यसअघि सामान्यतया प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन थियो । ओलीलाई भने औपचारिक रुपमा भारतबाट निम्तो आएको छैन । तर परराष्ट्रमन्त्री आरजु राणाले भने सरकारको तर्फबाट यसअघि नै भारत भ्रमण गरिसकेकी छन् ।