लक्ष्मी पुजाको दिन बिजुली माग जम्मा १६०२ मेगावाट, बढी भएको २५३ मेगावाट भारत निर्यात
काठमाडौं । लक्ष्मी पुजाको दिन विद्युतको आन्तरिक उच्च माग (पीक डिमाण्ड) १६०२ मेगावाट पुगेको छ ।
लक्ष्मी पुजाको दिन देशभर झिलिमिली बत्ति बाल्दा पनि जम्मा आन्तरिक पीक डिमाण्ड १६०२ मेगावाट पुगेको हो । तिहार झिलिमिली बत्तिको पर्व हो । झिलिमिलि बत्ति बालेर लक्ष्मी पुजा मनाउने चलन छ । लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषका अनुसार आन्तरिक रुपमा खपत भएर बढी भएको २५३ मेगावाट बिजुली भारत निर्यात भएको छ । ‘जम्मा १६०२ मेगावाट खपत भएको छ । हिजो नेपाल र बंगलादेशबीच फुटबल गेम हुँदा १८०० मेगावाट खपत भएको थियो,’ उनले भने, ‘हिजो नेपालभरी बाट नै लोड आएको थियो । उकपरणहरु चलेका थिए । सोही कारण खपत बढेको हो ।’ गत वर्ष करिब १६०० मेगावाट पीक डिमाण्ड थियो ।
अहिले कलंकीको स्युचाटारमा लोड डिस्प्याच सेन्टरमा ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ ‘कान्छाराम, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवालसहितको टोली पुगेको छ । हरेक वर्षको लक्ष्मी पुजाको दिन कुलमान स्युचाटार पुगेर आफै लोड व्यवस्थापनमा खटिन्छन् ।
प्रबन्ध निर्देशक घिसिङले पहिलो कार्यकालमा लक्ष्मी पुजाकै दिन लोडसेडिङ हटाएर वाहावही पाएका हुन् ।
२०७३ सालको तिहारमा विद्युत प्राधिकरणले सबैलाई झिलिमिलि बत्ती बाल्न आग्रह गर्यो । अरु बेला गइरहने बिजुली उक्त दिन झ्याप झ्याप गएन । घिसिङले लक्ष्मी पुजाका दिन सबैभन्दा धेरै लोड हुने भन्दै लोडसेडिङ अन्त्यको परीक्षण गरेका थिए । उक्त परीक्षण सफल भएको थियो । लक्ष्मी पुजा नेपाल अध्यारोबाट उज्यालोतिर मोडिएको दिन हो । लक्ष्मी पुजामा साँझ र रातमा कुनै पनि घरमा बत्ति निभाइदैन ।
अहिले प्राविधिक समस्या आएर केहि स्थानमा बाहेक अरु सबै ठाउँमा झिलिमिल बत्ति बालिएको प्राधिकरणले जनाएको छ ।
पूराना वर्षहरुमा लक्ष्मी पुजाको दिन सबैभन्दा धेरै बिजुली खपत हुन्थ्यो । झिलिमिली बत्तिका कारण लोड ह्वात्तै बढ्थ्यो । अहिले भने परिस्थिति फरक भएको छ । अहिले लाइटिङ लोडभन्दा औद्योगिक लोड धेरै छ । पहिले बिजुली बत्ती बाल्नका लागि प्रयोग गरिन्थ्यो । अहिले औद्योगिक लोड धेरै छ । सोही कारण चाडपर्वहरुमा उद्योग बन्द हुँदा प्राधिकरणका अनुसार लोड घटेको हो ।