बंगलादेशविरुद्ध फाइनलमा नेपालको प्रत्येक गोलका लागि गरिमा विकास बैंकको १ लाख पुरस्कार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँका दरले पुरस्कार प्रदान गर्ने भएको छ ।
बंगलादेश विरुद्धको फाइनलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रतिगोल १ लाख प्रदान गर्नेछ । नेपालमा फुटबल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दैआएको छ ।
विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवर्द्धनमा सहयोग गर्दैआएको छ ।