धनतेरसमा कुन नेपाली अर्बपतिले के किने ?
काठमाडौं । केही वर्षअघिसम्म नेपालमा खासै प्रचलनमा नरहेको धनतेरस पछिल्ला वर्षहरुमा मनाउन थालिएको छ । भारतमा धुमधामसँग धातु लगायतका सामग्री किनेर मनाइने यो पर्व नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको हो । विशेष गरि नेपालमा माडवारी समूदायले विशेष रुपमा मनाउने यो दिन अहिले सबैले मनाउन थालेका छन् ।
विषेशगरि धनतेरसमा सुन, चाँदीका गहना तथा भाँडाहरु किन्ने गरिएको छ । यो दिन सबैले आ–आफ्नो हैसियत अनुसारले सुन र चाँदी किन्ने गरेका छन् । यसदिन खरिद गरिएको सुनचाँदीले घरमा सुख, समृद्धी भित्रिएर धनको कहिले अभाव हुँदैन भन्ने मान्यता छ ।
त्ययसैले हुनेखानेहरुले सुन, चाँदी, हिरालगायतका महँगा धातुहरु किन्ने चलन छ ।
धनतेरसमा सामान्य मानिसले के कति र कस्ता सामग्री किन्छन् भन्ने सबैले अनुमान गर्न सक्छन्। तर उच्च घराना तथा धनाढ्य व्यक्तिहरुले धनतेरस के किनेर कसरी मनाउँछन् सबैले अड्कलबाजी गरेका हुँदैनन् ।
हामीले अर्बौं रुपैयाँका मालिक नेपालका उद्योगी र व्यवसायीले धनतेरस कसरी मनाउँदैछन् भनेर सोधेका थियौं । उनीहरुको भनाइ जस्ताको त्यस्तैः
अहिले धनतेरको सामान बुहारीले किन्छन्: सारिका चौधरी
आज तिहारको पहिलो दिन धनतेरस हो । धनतेरसलाई हामी विषेशरुपमा मनाउँछौं । आज साँझ एउटा दियो बालेर भाँडाको पूजा गर्छौं ।
धनतेरसमा केही नयाँ सामान जोड्ने प्रचलन छ । पहिले–पहिले त म आफैं सामानहरु किनेर ल्याउँथेँ । अब त बुहारीहरु पनि छन् । त्यसैले अचेल धनतेरसको किनमेल गर्ने जिम्मा बुहारीहरुलाई दिएकी छु । उनीहरुले नै सामान किनेर ल्याएका छन् । विनोद बाबु र म दुबै दिल्लीमा छोरा बरुण कहाँ छौं । साँझ सबै भेला भएर पूजाआजा गर्छौं । सबै सँगै भएर खाना खान्छौं । भाइटीकाको अघिल्लो दिन काठमाडौं फर्किन्छौं ।
धनतेरस भड्किलो बन्दै गयो, सुन किन्दिनँ: पशुपति मुरारका
धनतेरसको दिन लक्ष्मी पूजाका लागि चाहिने सामानहरु किन्छु । हामीले लक्ष्मी पूजाको लागि सामानहरु आज ल्याउने हो । काँसको भाँडाकुडा ल्याउँछौं । लक्ष्मी पूजाका लागि काँसकै ल्याउँछौं । गणेश, लक्ष्मीको मुर्ती आज ल्याउँछौं । पूजाका लागि चाहिने सबै सामान ल्याउछौं । लक्ष्मी पूजा घरमा सबै जना बसेर गर्छौं । दीपावली हाम्रो ठूलो पर्व हो ।
सुन चाँदी गैरपूजाको दिन पनि किन्न सकिन्छ । धनतेरस नै कुर्न पर्दैन । यो उत्पादनशील चीज होइन् । यसमा म लगानी गर्दिन । धनतेरस कमर्सियलाइज भएको छ । सुन,चाँदी,गाडी महँगा सामानहरु किन्ने चलन छ । पछिल्लो समय यो भड्किलो बन्दै गएको छ । जुन मलाइ मन पर्दैन ।
सुनचाँदीको सिक्कासँगै कुचो र नाङ्लो किनेँ: भवानी राणा
धनतेरसको दिन गरिने पूजाको लागि सुनको र चाँदीको सिक्का किनेँ । आजको दिन कुचो र नाङ्लो पनि किन्नै पर्ने हुन्छ । त्यसैले त्यो पनि किनेर घर आइसकेँ । पूजाको लागि आवश्यक सामान पनि किने । आजदेखि तिहारको पूजा सुरु भएकोले दियो बाल्ने काम सुरु हुन्छ । विवाह अगाडिदेखि नै सुनको सिक्का, चाँदीको सिक्का, कुचो र नाङ्लो किन्ने प्रचलन छ त्यहीँ अनुसार किनेर पूजा गर्ने गर्छु ।
चाँदीको थाली मात्रै किन्छु: सीमा गोल्छा
दिनभरी अफिसको कामले व्यस्त भएँ । दिपावली आइसकेकाले अफिसमा झिलिमिलि बत्ती जोड्ने काममा व्यस्त भएँ इलेक्ट्रोनिक कामले गर्दा व्यस्त भएँ । अब साँझ घर फर्कदा चाँदीको पूजा थाली किनेर लैजान्छु । आज धनतेरसका दिन केही न केही किन्नुपर्छ भन्ने छ । यसपाली पूजाका सामान र सुनको सिक्का बाहेक अरु केही किन्ने योजना छैन ।
सुनको सिक्का र भाँडाकुडा किन्छु: विदुषी राणा
वर्षेनी सुनको असर्फी किनेर धनतेरस मनाउने गरेकोमा यसपाली सुनको सिक्का किन्दै छु । लक्ष्मीको पूजाका सामग्री पनि किनेर घर फर्कदैँ छु । लक्ष्मीको पूजा विशेष रुपमा नै गर्ने गरेको छु । भाटभटेनी छिरेर खाना पकाउने भाँडा पनि किन्नुपर्ने छ ।
धनतेरसका दिन वर्षेनी केही न केही किन्ने गरेकोले गरेको छु । यसपटक धनतेरसमा म मेरो भान्साका सबै भाँडाकुँडा परिवर्तन गर्न गइरहेको छु ।अब म सबै भाँडाकुँडालाई कास्ट आइरनमा परिवर्तन गर्दैछु, किनभने कास्ट आइरन स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ। टेफलोनले बनेका नन-स्टिक प्यानहरूभन्दा यो धेरै राम्रो विकल्प हो। यही मेरो यस वर्षको धनतेरसको किनमेल हो। लक्ष्मीको पूजा गर्दा आफ्नोसँगै देशको उन्नतिप्रगति होस् भन्ने कामना गर्छु ।
सुनचाँदी धेरै जम्मा भयो, यसपालि पूजा गरेर मनाउने तयारी छ: शशिकान्त अग्रवाल
मारवाडी समुदायमा धनतेरसले विशेष महत्व राख्छ । त्यहि भएर यो समुदायकाले धनतेरसको दिनलाई विशेष दिनको रुपमा मनाउँदै आएका छन् । म पनि विशेष पूजाआजा गरेर यो दिन मनाउने तयारी गरेको छु । यो दिन खास गरी सुन चाँदी किन्ने चलन छ । मेरोमा सुन चाँदीको गरगहना धेरै भण्डारण भइसकेको छ । सुन चाँदी खरिद गर्न धनतेरसकै दिन कुर्नु पर्दैन । मैले चाँहि यो दिन सुन चाँदीको कुनै सामग्री खरिद गरिन । पूजाआजा गरेर मनाउने तयारी गरेको छु ।
चाँदीको करुवा भएको घडा खरिद गरेँ: शिव घिमिरे, चेयरम्यान, एसजी ग्रुप
पछिल्लो समयमा नेपालमा धनतेरसको दिनलाई विशेष दिनको रुपमा मनाउन थालिएको छ । म पनि यो पर्वबाट अछुतो रहन सकेको छैन । यो दिन विशेष वस्तुहरु खरिद गर्नुपर्ने मान्यता छ । धनतेरसको दिनमा मैले तामाको विभिन्न प्रकारको पूजाको सामग्री, चाँदीको करुवा भएको घडा, कुचो, नुनलगायतको आवश्यकताअनुसार सामान खरिद गरेको छु । खरिद गरेको सामग्रीलाई पुजा कोठामा राखेर साँझ पूजा गर्ने तयारी गरेको छु ।