अहिले नै सरकार ढाल्ने पक्षमा छैनौं: प्रचण्ड (भिडियो)
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।
मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारको सय दिन असफल रहेको उल्लेख गरे ।
सरकार निर्माण नै सही विधि र प्रक्रियाबाट नभएको गुनासो गर्दै उनले गलत उद्देश्यका साथ वर्तमान सरकार बनेको टिप्पणी गरे।
वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले अहिले नै सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको बताए ।
सरकारले जनताका लागि काम नगरेको भन्दै सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको बताए ।
‘सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो, यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्नेकुरा त मैले सुरुमा नै भनेको थिएँ । यसले सरकार गठनको दिगो हिसावले, प्रक्रियाको हिसावले, समयको हिसावले, ठाउँको हिसावले भनेर भनेको थिएँ । नभन्दै सय दिनसम्मको हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन, सरकार असफल नै छ,’ उनले भने, ‘ तर फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु की सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् । र सकारात्मक काम गरेर जाओस् भन्ने छ । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ । तर यो सरकारले राम्रो गरिरहेको छैन । र यो राम्रो उद्देश्यमा नै आधारित देखिएको छैन । जुन किसिमको तरिकाबाट आएको छ, त्यहाँ मलाई शंका छ र त्यो शंका मेरो रही राख्छ ।’