कन्काई इन्टरनेसनलले एकै वर्ष गर्यो २ अर्ब बढीको व्यापार, ६ अर्ब ऋणको रेटिङ
काठमाडौं । झापामा स्थापना भएको कन्काई इन्टरनेसनल बिल्डर्स प्रालिले सन् २०२४ मा २ अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।
झापामा सन् १९८७ मा स्थापना भएको कम्पनी निर्माणसम्भारका काममा संलग्न कम्पनी हो । एकल रुपमा तथा संयुक्त रुपमा विभिन्न जोइन्ट भेन्चरमार्फत निर्माणको काम गर्ने गरेको कम्पनीको व्यापार पनि बढ्दो छ ।
सन् २०२२ मा यो कम्पनीले १ अर्ब ६८ लाख ३० हजार रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा यसको व्यापार १ अर्ब ७० करोड ९० लाख पुगेकोमा सन् २०२४ मा थप वृद्धि भएर २ अर्ब २१ करोड ४० लाख रुपैयाँको व्यापार यो कम्पनीले गरेको थियो ।
रामप्रसाद मैनाली अध्यक्ष रहेको यो कम्पनीमा उनकै परिवारहरु प्रोमोटरका रुपमा रहेका छन् । मुख्य गरि कम्पनीको व्यापारको प्रमुख स्रोत सरकारी निकायबाट प्राप्त हुने निर्माण कार्यहरु रहेका छन् । जसमा पनि धेरै जसो सडक र पानी वितरणसँग सम्बन्धित परियोजनामार यो कम्पनी संलग्न रहेको छ ।
हाल भने कम्पनीले ६ अर्ब रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई २९ करोड ७५ लाख रुपैयाँको दीर्घकालिन कर्जाका लागि डबल बी प्लस, ११ करोड ७९ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर प्लस र ५ अर्ब ५८ करोड ४६ लाख रुपैयाँको दीर्घकालिन तथा अल्पकालिन कर्जा सुविधाका लागि डबल बि प्लस तथा ए फोर प्लस रेटिङ दिएको छ ।