भौतिकमन्त्रीको दाबी: १०० दिनमा ५५ उपलब्धि



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो एक सय दिने कार्यकालको ५५ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सय दिनको उपलब्धि विवरण सार्वजनिक गरेका हुन् । एक सय दिनका लागि निर्धारित १० काममध्ये ८ वटा काम सम्पन्न भएको उनले बताए ।

वर्षात र बाढीको प्रकोपका कारण सिर्जित आपतकालीन सडक तथा यातायात व्यस्थापनको कार्यमा लाग्नु परेकाले तोकिएको सबै काम निर्धारित समयमा सम्पन्न हुन नसकेको उनले दाबी गरे ।

वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणका लागि थप १५ अर्ब १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिँदै उनले त्यस्ता संरचना निर्माण गर्न विभिन्न दातृ निकाय तथा निकायसँग छलफल भइरहेको बताए ।

सय दिनको अवधिमा सरकारले नीतिगत र कानूनी कार्यलाई समेत प्राथमिकतामा राखेको मन्त्री दाहालले बताए । नीतिगत, सुशासन र कानूनी सुधार तर्फ सय दिनको अवधिमा ७ उपलब्धि प्राप्त भएका छन् ।

राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणापत्रमा सहमतिका लागि अर्थमन्त्रालयमा पठाउने, डिप्लोमा इन्जिनियरिङ परिषद गठन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिका लागि अर्थमन्त्रालयमा पठाउने लगायतका काम यो अवधिमा भएका छन् ।


क्लिकमान्डु