गुणस्तरहीन गुलाब जल आयातमा प्रतिबन्ध



काठमााडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन ‘रोज वाटर’ (गुलाब जल) लाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

काठमाडौंको फुड्स इन्टरनेशनल प्राइभेट लिमिटेडले दुबईबाट आयात गरेको ‘रोज वाटर’ परीक्षण गर्दा आँखाले देख्ने गरी त्यसमा बाह्य पदार्थको उपस्थिति भएकाले नेपाल प्रवेशमा रोक लगाइएको हो ।

विभागका प्रवक्ता मोहन मर्हजनका अनुसार बुधबार पर्सास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमार्फत भित्र्याइएको १९२ किलो रोज वाटरको नमूना वीरगञ्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले परीक्षण गरेको थियो ।

रोज वाटरमा बाह्य पदार्थको उपस्थिति भेटिएपछि नेपाल प्रवेश अनुमति अस्वीकृत गरिएको हो । विभागका अनुसार यस्तो रोज वाटर विभिन्न प्रकारको मिठाई तयार पार्दा व्यवसायीहरुले प्रयोग गर्दैआएका छन् ।

सरकारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ गत् साउन १९ गतेदेखि कार्यान्वयनमा ल्याएको छ । यो ऐनले खाद्य पदार्थ आयात गर्दा व्यवसायीले अनिवार्य रुपमा आयात अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु