डिएचआईको व्यापारमा उच्च वृद्धि, कति गर्‍यो कारोबार ?



काठमाडौं । डिजिटल होम इन्टरनेसनल प्रालि (डिएचआई) को व्यापारमा उच्च वृद्धि भएको छ ।

डिएचआई ब्रान्ड नाममा विद्युतीय सामग्रीको उत्पादन गर्ने कम्पनीको व्यापारमा वृद्धि भएको हो । सन् २०२१ मा कम्पनीले ५६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२२ मा भने यसको व्यापारमा गिरावट भएर ४२ करोड ४० लाख रुपैयाँको व्यापार भएको थियो । सन् २०२३ मा यसको व्यापारमा वृद्धि भएर ६४ करोड रुपैयाँको व्यापार भएको थियो ।

सन् २०२४ मा भने यो कम्पनीको व्यापार थप वृद्धि भएर ८९ करोड ६० लाख रुपैयाँको व्यापार भएको छ । डिएचआईको व्यापारमा वृद्धि भइरहँदा मार्जिनमा पनि सुधार भएको छ ।

सन् २०२२ मा नकारात्मक मार्जिन रहेको कम्पनीमा सन् २०२३ मा १.७९ प्रतिशत र सन् २०२४ मा १०.७९ प्रतिशत मार्जिन कायम भएको थियो ।

सन् २०१८ मा सुरु भएको कम्पनीले नेपालमा विद्युतीय सामग्रीको एसेम्बल तथा बिक्री गर्दै आएको छ । यो कम्पनीले मुख्य गरि इन्टरनेट सर्भिस प्रोभाइडरलाई डाइरेक्ट टु होम (डीटीएच) र इन्टरनेट प्रोटोकोल टिभि (आईपिटीभी)का लागि सेट टप बक्स बेच्ने गर्छ ।

त्यसबाहेक यसले विभिन्न किसिमका घरेलु सामग्रीको उत्पादन पनि गर्ने गरेको छ । हाल देशैभरमा यो कम्पनीका ३१४ वितरण केन्द्र रहेको छ ।

यो कम्पनीको बोर्डमा भने डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य अध्यक्ष रहेका छन् । नेपालमा सामग्रीको उत्पादनका लागि भने यो कम्पनीले भारत र चीनबाट कच्चा सामग्री आयात गर्दै आएको छ ।


क्लिकमान्डु