पोखराका सहकारी पीडितको गुनासो: रास्वपा कार्यकर्ताबाट बचतकर्ता कुटिए



काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी पीडितहरुले रास्वपाका कार्यकर्ताहरुले बचतकर्ताको घरमै पुगेर बचतकर्तालाई कुटपिट गर्ने र भड्काउने काम गरेको बताएका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी पीडित संघर्ष समितिले बुधबार विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यकर्ताले बचतकर्ताको घरमै पुगेर कुटपिट गरेको जनाएको छ ।

साथै रास्वपाको प्रदर्शनले अनुसन्धानलाई प्रभावित पार्ने काम गरेको पनि संघर्ष समितिको गुनासो छ । विगत २ वर्षदेखि हरेक दिन आफूहरुले प्रदर्शन गर्दा रास्वपाले वास्ता नगरेको तर हाल बचतकर्तालाई लखेट्ने र पिट्ने काम गरेको संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ । साथै रास्वपाका कार्यकर्ताको यस्ता गतिविधिप्रति संघर्ष समितिले आपत्ति जनाएको छ ।

‘कैयौं पटक ज्ञापनपत्र बुझाउँदा पीडितको समस्या समाधानका लागि बिन्ती बिसाउँदा पनि कहिल्यै कुनै सहयोग नभएको कुरा छर्लङ्ग छ । तर आज पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति पक्राउ परे तब घैंटोमा घाम लागेजस्तो देखिएको छ,’ सहकारी पीडित संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै रास्वपाका कार्यकर्ताले पार्टी सभापति रवि लामिछाने बचाउ आन्दोलन गरिरहेको भन्दै उक्त आन्दोलनविरुद्ध सडकमा आउन बाध्य नपार्न पनि संघर्ष समितिले रास्वपालाई चेतावनी दिएको छ ।

पोखरामा रास्वपाका कार्यकर्ताहरु लामिछानेको रिहाइका लागि प्रदर्शन गरिरहँदा सहकारी पीडितहरु पनि आन्दोलन गरिरहेका छन् । संघर्ष समितिले बिहीबार बिहान मुस्ताङ चोकमा प्रदर्शन गर्ने बताएका छन् ।


क्लिकमान्डु