रविका लागि मर्छु भन्ने मनिष झाको गगन थापालाई सुझाव: ए दाइ तपाईं सुध्रिनुस् ! (अन्तर्वार्ता)



पोखरा । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला पोखरा केन्द्रीत आन्दोलनमा छ । सूर्यदर्शन सहकारीको रकम लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा अपचलन गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ र आइतबार अदालतले लामिछानेमाथि थप छानबिनका लागि ६ दिनको समय प्रहरीलाई दिएको छ ।

रास्वपाका केन्द्रीयतहका नेतासहित कार्यकर्ता पोखरामा केन्द्रीत भइरहँदा उनीहरुले पार्टी सभापति रवि लामिछानेलाई न्याय दिन माग गरेका छन् भने सहकारी पीडितको पक्षमा पनि नाराबाजी गरिरहेका छन् । राजनीतिक प्रतिशोधका आधारमा रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै रास्वपा नेता कार्यकर्ता सरकारबिरुद्ध आक्रोशित भएका छन् ।

रास्वपाले गरिरहेको आन्दोलन, सहकारी समस्या लगायतका विषयमा आन्दोलनमा सहभागी हुन पोखरा आएका रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झासँग क्लिकमान्डुकर्मी दिनेश खड्काले संवाद गरेका छन् ।

संवादका क्रममा झाले आफूहरु सरकारविरुद्ध लडिरहेको र सरकारका कदमका आधारमा रास्वपाको आगामी कार्यक्रम तय हुने बताए ।

आफूहरुलाई न्याय चाहिएको भन्दै उनले राजनीतिक प्रतिशोधका आधारमा रविलाई पक्राउ गरिएको बताए । ‘हामीलाई न्याय चाहिएको छ । हामीले रविलाई पक्राउ गर्न पाइँदैन भनेर आन्दोलन गरेको होइन,’ उनले भने, ‘राजनीतिक प्रतिशोधका आधारमा कानुनी राज्य र सत्ताको दुरुपयोग गर्न पाइँदैन भन्ने हो । हामीलाई कसरी सम्बोधन गर्छ सरकारले त्यो अनुसार अघि बढ्छौं ।’

संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको प्रतिवेदन दिएको भए पनि वर्तमान सरकार गोरखा मिडियामा गएको भनिएको ६५ करोडको पछाडि लागेको उनले बताए । सहकारीमा देखिएको समस्याको यो १ प्रतिशत पनि नभएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका उपसभापति पनि सहकारी ठगीमा मुछिएको भए पनि उनीमाथि छानबिन नगरेर आफ्नो दलका सभापतिमाथि राजनीतिक पूर्वाग्रह साँधिएको उनको आरोप छ।

‘उपसभापति वा नेताको श्रीमती भएको भएर अरुलाई नसमेटिएको हो ? प्रतिवेदनमा सहकारी ठगीमा आवद्ध भएको व्यक्तिमा रविको नाम छैन तर जसको नाम छैन उहाँलाई समातिसक्यो,’ उनले भने, ‘पूर्वमन्त्रीले ८४ लाख एकैपटक तिर्छ त्यो पनि कुनै व्यापारीबाट लिएको छ । त्यसलाई हेर्नुहुन्न उहाँहरु । उल्टो त्यहीँ ब्यापारीबाट जग्गादान लिनु हुन्छ ।’

जीबी राईले सहकारीबाट ६ अर्ब रुपैयाँ लिएको र त्यो पैसा उनका ४० वटा व्यापारमा गएको भए पनि अन्यमाथि छानबिन नगरेर सरकार गोरखा मिडियामा गएको ६५ करोडमा मात्र लाग्यो यसले गर्दा यो राजनीतिक प्रतिशोध हो भन्नेमा आफूहरु प्रष्ट भएको उनको भनाइ छ ।

‘जीबी राईले लगानी गरेको अर्को इन्भेष्टर रामेश्वर थापा पनि हो तर उहाँलाई सरकारले देख्दैन भनेपछि राजनीतिक प्रतिशोध होइन त? देशको सबैभन्दा ठूलो लोकतान्त्रिक भनिएको पार्टी कांग्रेसका उपसभापति धनराज गुरुङलाई कानुनी शासन नलाग्ने हो ?,’ उनले भने, ‘रवि जीले आफूले सहकारीबाट पैसा लिएको प्रमाण छैन तर धनराजले त सही गरेर ल्याएको छ भनेपछि उहाँमाथि केही नहुने हुन्छ ?’

टेरामक्स, वाइडबडी, भुटानी शरणार्थी, गिरीबन्धुको मुद्दा सरकारले नउठाएको तर सुशासनको कीर्ते नारा लगाइरहेको उनको आरोप छ ।

आफूहरु सहकारी पीडितको पक्षमा भएको भन्दै उनले ३५० वटा सहकारी स्पष्ट रुपमा रकम अपचलन भएको देखिएको बताए । सहकारी समस्याको नेतृत्व अब रास्वपाले गर्ने उनले बताए । राजनीतिक कुन्ठाले समस्या समाधान भन्दा पनि पक्राउ मात्र गर्ने उनले बताए ।

‘७ सय अर्बको अपचलन भएको छ । अब सहकारीको आन्दोलनको लिड रास्वपाले गर्ने हो,’ झाले भने, ‘राजनीतिक कुन्ठाले गर्ने भनेको पक्राउ हो । हामीले गुमाउन बाँकी केही छैन । मेरो नेतालाई प्रतिशोध नराखी कानुनी रुपमा अघि बढ्दा हामीले सघाइरहेका छौं । एउटा दलका नेता ४ दिन देखि हिरासतमा हुनुहुन्छ हामीले छोड्दे भनेका छैनौं, न्याय दे भनि रहेका छौं ।’

आफूहरुको आन्दोलन कसैलाई छाड्नका लागि भन्दा पनि न्यायका लागि भएको उनले बताए ।’यो एककिसिमको दबाब सत्ता पक्षलाई हो । राजनीतिक प्रतिशोध अझै क्रुर, पक्षपाती नहोस् भन्ने हो । राजनीतिमा सदन र सडकमा आवाज उठाउने हो । सदन र संसदीय समितिहरु अहिले नभएकाले सडकबाट आवाज उठाएका हौं ।’

आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने उनले बताए । वैदेशिक रोजगारीमा बिदा लिएर आफूहरुको आन्दोलनमा मानिसहरु सहभागी भएको उनले बताए ।

आफूहरुले पुराना दल र पुराना मुद्दालाई देखाए नयाँ दललाई उन्मुक्ति दे भनेर नभेको उनको भनाइ छ । ‘यसमा कुनै बार्गेनिङ होइन, हाम्रो नेतालाई छाड् नत्र तिमीहरुलाई छाड्दैनौं भनेको होइनौं,’ उनले भने ।

झाले आफूहरु रगत बगाउन र सहिद बन्न तयार छौं भनेको भन्दै अन्य दलले गरेको खिसिट्युरीको जवाफ दिएको बताए । ‘नयाँ दल, यिनीहरुको कसैको पनि रगत बेगको छैन, सहिद पनि छैन भनेर खिसिट्युरी गरेको जवाफ दिएको हो मैले रगत बगाउने भनेर,’ उनले भने, ‘राजनीतिज्ञ हुन सहिद र रगतै चाहिएको छ भने हामी तयार छौं ।’

अबको लडाइ भ्रष्टाचारी, राजनीतिक प्रतिशोधकाविरुद्धमा भएको उनले बताए ।

पुराना दलका नेता नेता सुध्रिए आफूहरु चुप लाग्न तयार रहेको उनले बताए । दुई तिहाइको सरकार बनेपछि आफू सबैभन्दा खुसी भएको भन्दै उनले यो सरकार टिकोस् डेलिभर देओस् भन्ने पक्षमा भएको भए पनि त्यसो नभएको उनले बताए ।

झाले कांग्रेस महामन्त्री गगन थापालाई गलत मानिसहरुको संगत नगर्न र सुध्रिन आग्रह गरे ।

‘गगन थापाबाट मैले राजनीति धेरै सिकेको छु । मेरो द्वेश, क्रोध किन हो भने उहाँ शेरबहादुर देउवाविरुद्ध लाग्नु भएको थियो । अहिले उहाँ नै प्रधानमन्त्री हो अबको भन्दै हिँड्नु भएको छ । किर्तेप्रसाद ओली भन्दै बिरोध गर्दै आउनु भएको थियो अहिले केपी बा भन्दै हुनुहुन्छ । त्यसैले गगनको परिवर्तित चरित्रप्रतिको असन्तु्ष्टि हो,’ झाले भने, ‘यो व्यक्तिप्रति होइन । जब व्यक्ति गलत मार्गमा जान्छ, त्यो बेलामा प्यारो व्यक्तिमाथि पनि घृणा लाग्छ । गगनबाट जे आशा थियो त्योभन्दा फरक बाटोमा जाँदै छौं । त्यसैले ए दाई सुध्रिनुस् गलत व्यक्तिलाई साथ नदिनोस् भनेर उहाँको मार्ग, प्रणाली, चरित्र परिर्तन देखेर चिन्ता व्यक्त गरेको हो।’

झाले रास्वपा भ्रष्टाचार विरुद्ध, शुसासनको समर्थनमा लाग्ने झाले बताए । अब देशमा पढे लेखेकाहरु राजनीतिमा आउनु पर्ने र त्यसको नेतृत्व रास्वपाले गर्ने उनको भनाइ छ ।

भिडियो तथा सम्पादन: युवराज भट्टराई


दिनेश खड्का