प्रतिपक्षी दल जनमोर्चाले भन्यो: सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्नु उचित



काठमाडौं । संसद्‍को प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरिनु उचित भएको जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै रवि लामिछानेको पक्राउप्रति समर्थन जनाएका छन् । रास्वपाले सरकारले लामिछानेलाई ‘फसाउन षड्यन्त्र गरिरहेको’ आरोप लगाइरहँदा जनमोर्चाले विज्ञप्ति जारी गरेको हो । जवकि जनमोर्चाका अध्यक्ष केसी सरकारको कट्टर आलोचकको रुपमा चिनिन्छन् ।

नेता केसीले लामिछानेमाथि अनुसन्धान गर्नु उचित भएको प्रतिक्रिया दिएका हुन् । जनमोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘‍सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ ।’

जनमोर्चाले रविमाथि अनुसन्धान गर्न सदन तथा सडकमा निरन्तर आवाज उठाएको तर तर तत्कालीन माओवादी-एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको पनि केसीले आरोप लगाएका छन् । तर पछिल्लो पटक लामिछानेाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएकोमा नेता केसीले समर्थन जनाएका हुन् ।

यसैगरी सहकारी ठगीको विषय राष्ट्रिय समस्या भएको भन्दै यो समस्या समाधान गर्न सहकारी संस्थाहरुको नियमन गर्ने संयन्त्र बनाउन पनि जनमोर्चले माग गरेको छ ।


क्लिकमान्डु