प्रत्येक जिल्लाबाट कम्तीमा १ सय जनालाई पोखरा प्रदर्शनमा ल्याउन रास्वपाको निर्देशन



काठमाडौं । रास्वपाले रवि लामिछाने पक्राउ परेकोमा विरोध गर्न देशभरका ७७ वटै जिल्लाबाट कम्तीमा १ सय जनाका दरले कार्यकर्ताहरुलाई पोखरा पुग्न निर्देशन जारी गरेको छ ।

सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा लगेको हो । आइतबार रास्वपाको केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन् । शनिबार मध्यरात नै मातहतका पार्टी संगठनका नेताहरुलाई म्यासेज गरेर जतिसक्दो छिटो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको थियो।

‘जतिसक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ,’ रास्वपाको केन्द्रीय सचिवालयले पठाएको म्यासेजमा उल्लेख छ ।

सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले शुक्रबार राति पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा पुर्‍याएको थियो । आइतबार उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । तर यसबीचमा रास्वपाका कार्यकर्ताहरुले पोखरामा विरोध पर्दर्शन गरिरहेका छन् ।

यद्यपि रास्वपाका समर्थक तथा कार्यकर्ताहरुले निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि सुरक्षाकर्मीले उनीहरुलाई हटाउन खोजेको छ । निषेधित क्षेत्रबाट हटाउने क्रममा सुरक्षाकर्मीहरुसँग प्रदर्शनकारीको घम्साघम्सी पनि भएको छ ।

जहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ । आइतबारको प्रदर्शन हेर्दा उनीहरुको संख्या सुरक्षाकर्मीहरुको भन्दा थोरै देखिएको छ । रास्वपाका प्रदर्शनकारीहरु करिब २ सयको हाराहारीमा रहेका छन् भने त्यसको दोब्बरभन्दा धेरै संख्यामा सुरक्षाकर्मीहरु तैनाथ छन् ।

झडप र तोडफोडबिना ‘नीलो क्रान्ति’ गर्ने भन्दै राजनीतिमा प्रवेश गरेको रास्वपाले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने निर्दोष रहेको जिकिर गर्दैआएका छन् । जवकि सहकारीको रकम अपचलन गरेको विषयमा संसदीय विशेष छानबिन समितिले रवि लामिछानेसहितका व्यक्तिहरुलाई अनुसन्धान गर्न सुझाव दिइसकेको छ । समितिका सभापति सूर्य थापाले नै रवि लामिछानेले ‘क्लिन चिट’ पाएको नभएर उनले कानुनको सामना गर्नुपर्ने बताउँदै आएका छन् ।


क्लिकमान्डु