३ महिनामा मेची भन्सार कार्यालयको राजस्व संकलन ३ अर्ब ५८ करोड



झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २०.६९ प्रतिशत हो ।

चालु आव २०८१/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार रुपैयाँ सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजार रुपैयाँले बढी हो ।

आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७८.४ प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/८२ मा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँले राजस्वको लक्ष्य घटाइएको छ ।


क्लिकमान्डु