शिवम् होल्डिङ्सको ११ करोड ६० लाख नगद लाभांश पारित



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड(SHHL)को करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङस् लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को साधारण सभाले कम्पनीमा हाल कायम सेयरधनीहरुलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

यसका साथै, शिवम् होल्डिङसका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गरेको छ ।

कम्पनीको आ. व. २०८१/०८२ को लेखापरक्षिण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरुमाथि छलफल गरी साधारणसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

शिवम् होल्डिङ्स लिमिटेड कम्पनीले नेपालकै सबै भन्दा ठूलो उत्पादन क्षमता भएको चिनीयाँ विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा संचालनमा रहेको होड.शी शिवम सिमेन्ट प्रालिको उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ ।

उक्त उद्योग बाहेक अन्य पूर्वाधार निर्माण र जल विद्युत परियोजनाहरुमा समेत लगानी गर्न प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडि बढाइएको छ ।

त्यसैगरी, यस शिवम् होल्डिङ्सले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने सेयरहरु सर्वसाधारणहरुलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र वोर्ड समक्ष निवेदन दर्ता गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि नियमानुसार सर्व साधारणमा सार्वजनिक निष्काशन मार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरुमा समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन पक्ष लागि रहेको जानकारी कम्पनीले दिएको छ ।


क्लिकमान्डु