‘परोपकारी अर्बपति’को छवि बनाएका टाटाले झेल्नुपरेका प्रमुख चार विवाद



एजेन्सी । भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा गत साता निधन भयो । भारत मात्रै नभएर विश्वभर प्रसिद्धी कमाएका टाटाको निधनमा थुप्रै मानिसहरुले दुख व्यक्त गरे । उनलाई श्रद्धाञ्जलि अर्पण गरे ।

भनिन्छ टाटा सम्पत्ति मात्रै नभएर मनका पनि धनी थिए । आफ्नो जीवनकालमा उनले ठूलो रकम परोपकारी काममा पनि लगाए । सम्पन्न परिवारमा जन्मिए पनि बाबुआमाको सम्बन्धविच्छेद लगायत दुखको सामना गर्दै उनले धेरै संघर्ष पनि गरेका थिए ।

टाटाको निधनपछि उनको परोपकारी कामसँगै जीवनकालमा उनले सामना गरेका केही विवादबारे पनि चर्चा हुने गरेको छ । विशेषगरी टाटाले आोफ्नो जीवनकालमा सामना गरेका प्रमुख चार विवादबारे यहाँ चर्चा गरिएको छ ।

सिंगुर नानो प्ररोजेक्टमा किसानहरुको विरोध

टाटाले सबैभन्दा सस्तो कारको रुपमा नानो प्रोजेक्ट घोषणा गरेका थिए । २००६ मा पश्चिम बंगालको तत्कालीन कम्युनिस्ट सरकारले टाटाको उक्त प्रोजेक्टका लागि किसानबाट जमिन अधिग्रहण गरेको थियो । तर उक्त जमिन अधिग्रहणलाई लिएर पश्चिम बंगालमा व्यापक विरोध भयो ।

पश्चिम बंगालमा तत्कालिन विपक्षी दल ममता बनर्जीले किसानको विरोधको नेतृत्व गरेकी थिइन् । र आमरण असनस समेत बसेकी थिइन् । पछि यो आन्दोलनले हिंसात्मक रुपसमेत लिएको थियो । त्यहाँ कठिन भएपछि टाटाले आफ्नो नानो प्रोजेक्टलाई गुजरातमा सार्नु परेको थियो । तर जमिन भने कम्पनीले आफैंसँग राख्यो ।

२०११ को पश्चिम बंगाल विधान सभा चुनावमा सीपीएम पराजित बन्यो र ममता बनर्जी विजयी भएर मुख्यमन्त्री नै बनिन् । ममता मुख्यमन्त्री बनेपछि पहिलो निर्णयको रुपमा नै उनले टाटाबाट जमिन खोसेर किसानहरुलाई नै फिर्ता गरेकी थिइन् ।

निरा राडिया टेप केस

२०१० मा रतन टाटा एउटा ठूलो विवादमा फसेका थिए । सीबीआईले लबीइस्ट निरा राडियाको १ सय भन्दा धेरै कल ट्याप गरेको थियो । जसमा प्रमुख नेता, उद्योगपति र पत्रकारहरु पनि परेका थिए । जहाँ रतन टाटा पनि थिए ।

टाटाको राडियासँग कुराकानी लिक भएपछि ठूलो विवाद उत्पन्न भयो । राडिया उद्योगपति मुकेश अम्बानी र रतन टाटाको लागि काम गर्थिन् । अनुसन्धान एजेन्सीले मोबाइल टेलिफोन लाइसेन्स विक्रीमा भएको घोटालाको आरोपमा अनुसन्धान गरेको थियो । सोही क्रममा राडियाको फोन आधिकारिक रुपमा अनुसन्धान टोलीले ट्याप गरेको थियो ।

यसपछि टाटाले सर्वोच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए । जवकि त्यो निजी कुराकानी थियो । टाटा आफ्नो निजी कुराकानी सार्वजनिक गरेर गोपनियता उल्लंघन गरेको भन्दै अदालत पुगेका थिए ।

यस घटनामा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले अनुसन्धानको आदेश समेत दिएका थिए । फोन ट्यापिङबाट कसैलाई हुने चिन्ताको बारेमा आफू जानकार रहेको तर सरकारी एजेन्सीले राष्ट्रिय सुरक्षा र वित्तीय लेनदेनमा फोन ट्यापिङ गर्नु आवश्यक रहेको सिंहको प्रतिक्रिया थियो । तर अनुसन्धानको क्रममा सावधानी अपनाउने पनि उनको भनाइ थियो ।

तनिस्क विज्ञापन विवाद

२०२० मा टाटा ग्रुपद्वारा आफ्नो ज्वेलरी ब्रान्ड तनिस्कको एउटा विज्ञापन हतारमा फिर्ता लिएकोमा टाटाको व्यापक आलोचना भएको थियो । विवाद के थियो भने, ‘एकत्वम’ नामक गहनाको विज्ञापनमा एक मुस्लिम परिवारमा हिन्दु बेहुलीको बच्चाको बेबी सावर समारोह देखाइएको थियो ।

जहाँ एक सहिष्णु भारतीय समाज देखाइएको थियो । जसले सबै धर्म र राष्ट्रिय एकताको सम्मान गर्ने अर्थ लगाइएको थियो । तर टाटाले साम्प्रदायिक रुपमा विज्ञापनको आलोचना सामना गर्नु परेको थियो । साथै उक्त गहनाको वहिष्कार गर्ने अपिल समेत गरिएको थियो । अन्तत: उक्त दबाबका बीच तनिस्कको विज्ञापन फिर्ता लिनु परेको थियो ।

साइरस मिस्रीको आरोप

टाटाको उत्तरार्धमा साइरस मिस्त्रीसँगको विवादले पनि धेरै चर्चा पायो । टाटा ग्रुपका तत्कालीन अध्यक्ष साइरस मिस्त्रीले टाटा बोर्डविरुद्ध लेखेको पत्रमा रतन टाटामाथि कम्पनीमा हस्तक्षेप गर्ने र आफ्नो निर्णय लाद्ने गरेको आरोप लगाएको थियो ।

यसबीचमा रतन टाटा एक पटक फेरि विवादमा आएका थिए । जुन घटना २०१६ को अक्टोबरको अन्त्यतिरको थियो । साइरस मिस्त्रीले एक घण्टाभन्दा पनि कम समयको सूचनामा टाटालाई अध्यक्ष पदबाट हटाइदिएका थिए । यद्यपि उक्त निर्णयमाथि थुप्रै प्रश्न उठेको थियो ।

टाटा सन्सले मिस्त्रीको सबै दाबी अस्विकार गर्दै उनको पूरा हिस्सेदारी दिएको थियो । जवकि आरोप एक व्यक्तिले लगाएका थिए । र आरोप लगाउने व्यक्तिलाई पनि रतन टाटा स्वयंले ग्रुपको प्रमुखमा नियुक्त गरेका थिए । यस्ता आरोप र विवादका बीच समग्रमा रतन टाटा एक उद्यमीसँगै परोपकारी व्यक्तिको रुपमा पनि विश्वभर प्रसिद्ध छन् ।


क्लिकमान्डु