ब्रिटिस आर्मी हजुरबा कसौंडीमा मासु भुटेर भन्नुहुन्थ्यो- नाती हो, तिमीहरुलाई आज म शिकार खुवाउँछु



काठमाडौं । व्यवसायी सुदीप आचार्यलाई दशैं भन्नेवित्तीकै पोखरा जाने गरेको याद आउँछ । काठमाडौंमा दशैं लागेपछि चिसो हावा चल्थ्यो र त्यो हावाले आफूलाई पोखराको बाटो तताउने दिन नजिक्याएको महसुस हुन्थ्यो उनलाई । दशैंमा च्यांग्रा ल्याइने र परिकार बनाएर खाने भएकाले पनि उनी दशैंलाई खास हुने गरेको सम्झिन्छन् ।

उनका अनुसार खाना र उमेरबीच विपरित सम्बन्ध हुने रहेछ । उमेर बढ्दै जाँदा खानामा रुची विस्तारै कम भएको महसुस उनको छ । उतिबेला खसी च्यांग्रा घरमै काट्दा भुँडी रक्ति कलेजोको स्वाद लिन्थे सुदीप ।

घरमै सबैभन्दा मिठो हजुरबुवा पकाउँथे । ती दिनको सम्झना गर्दै आचार्य भन्छन् । ‘हजुरबुवा ब्रिटिस आर्मी हुनुहुन्थ्यो । आफू मासु खानुहुन्न थियो तर कसौडीमा भुटेर भन्नुहुन्थ्यो, नातीहरु हो आज म तिमीहरुलाई शिकार खुवाउँछु ।’ बाल्यकालमा मिठै खाने गरेकाले पनि छरछिमेकहरु भन्थे, ‘यिनीहरु त बाहुनको छोरा नै होइन जस्ता छन् ।’ अहिले पनि हेर्दा खाइलाग्दो देखिने आचार्य भन्छन्, ‘सबै कुरा खान मन पराउँछु र त यस्तो छु ।’

तरिका तरिकाको खान रुचाउने आचार्यलाई नेपाली खानासँग विशेष सम्बन्ध जोडिएको छ । केही समयअघि युरोप जाँदाको घटना सुनाउँदै उनले भने, ‘बोराता चिज मलाई खुब मन पर्छ । इटलीमा साल्मोन र बोराता खाइयो । तर, ४–५ दिन पछि जिब्रोलाई भातैको तलतल लाग्यो । म त्यस्तो भात खाने मान्छे त होइन, दिनै पिच्छे भात खान्नँ तर भात नभइ बाँच्न पनि सक्दिनँ जस्तो लाग्छ ।’

अमेरिका पढ्दा पनि सुदीप कुखुराको मासु र भात नै बढी खान्थे । ती दिन स्मृतीमा ताजगी गराउँदै उनले भने, ‘कुखुरा पकाउन नजान्ने कोही पनि हुन्थेन । कुखुरा पकाउने तरिका सबैको एउटै हुन्थ्यो, आलु मटर सबै त्यसैमा मिसाउँथ्यौं । त्यो म अहिले पनि मिस गर्छु ।’ अमेरिकामा एक्लै पनि बसेको भएर पनि बाँच्नकै लागि पकाउन सिकेको अनुभव उनको छ । उनले पकाएको खानेकुरा अमेरिकी साथीहरुलाई निकै पिरो लाग्थ्यो । उनीहरु त आत्तिने स्थितिमा पुग्थे ।

सुदीपका बुवाले पोखरामा होटल खोलेका थिए । त्यतिबेलै राजारानीलाई त्यो होटलको खाना मन परेर सेफ नै काठमाडौं लगिदिएका थिए रे राजारानीले ।

अचेल सुदीप किचेन खासै छिर्नुपर्दैन । उनकी श्रीमती खाना पकाउन खुब जाँगर चलाउँछिन् । सुदीप म पकाउँछु भन्छन् तर उनकी श्रीमतीलाई सुदीपले पकाएको चित्त बुझ्दैन ।

‘खाना पकाउनै किचेन छिरेको घटना विरलै छ तर पकाउनै सक्दिनँ भन्ने पनि होइन,’ उनले भने । तर, आफूले पिउने कफि चैं म आफैं बनाउने गरेका छन् । कफिमा नयाँ शोख विकास गर्दै गरेको उनले सुनाए ।

‘मलाई लाग्छ मेरी श्रीमती निकै राम्रो कुक हुन् । उनी चीन बसेकी हुन्,’ आचार्य भन्छन्, ‘घरमा सबैलाई चाइनिज खाना खुब मन पर्छ । श्रीमतीले घरमै हटपट बनाउँछिन्, परिवारको सबै जना र कहिलेकाहीँ पाहुना पनि बसेर खाँदा त्यो सर्वोत्कृष्ट लाग्छ ।’

बाहिर कुनै खाना मन प¥यो र घरमै बनाउने सोच आयो भने सुदीप सरसामाग्री म किन्छन्, पकाउन जिम्मा उनकी श्रीमती लिन्छिन् । ‘उनले मलाई पकाउनै दिन्नन्, म सर्भ गर्छु, भाँडा माझ्नु परे त्यो पनि गर्छु,’ उनले सुनाए । आचार्य बाहिर खान मन लागे जापनिज, नेवारी, थाइ र कोरियन रेस्टुरेन्ट जान्छन् ।

मिठो सँगै नमिठो खानाको उत्तिकै उनुभव छ उनको छ । पहिलोपल्ट कोरियन खाना र पिज्जा खाँदा साह्रै नमिठो लागेको थियो रे । भन्छन्, ‘यस्तो खाना पनि कसैले खान्छन् जस्तो भयो ।’

दशैंकको कुरा सम्झने क्रममा मावल जाँदा बाटोभरी आफन्त सबैकोमा पस्ने गरेको, धेरै ठाउँ पसेर धेरै दक्षिणा उठाउने ध्यान हुने गरेको उनले सुनाए । ‘पैसाको आशामा टीका लगाउन जान्थ्यौं, तर त्यहाँ केही न केही खानुपर्ने । धेरै खाएर पेट नै फुट्ला जस्तो हुन्थ्यो,’ उनी भन्छन् । १०–१२ रुपैयाँ दक्षिणा जम्मा गर्दा संसार जितेजस्तो लाग्थ्यो त्यतिबेला उनलाई ।

देउसीको चाहीँ तीतो अनुभव छ उनको । पहिलोपल्ट देउसी खेल्न जाँदा हजुरबुवाले किनिदिएको भुक्के चप्पल हराएकाले, मनै खिन्न बनाएको थियो रे । पिङ चाही काठमाडौंमा हुँदैन, पोखरामा मात्र हुन्छ जस्तो लाग्ने गरेको उनी सुनाउँछन् ।

प्रस्तुत छ, उनै आचार्यसँग खाना र दशैं अनुभतिका विषयमा क्लिकमान्डुका रोविन पौडेलले गरेको कुराकानीः


रोविन पौडेल