बाढी पहिरो र डुबानले कृषि क्षेत्रमा ६ अर्ब रुपैयाँको क्षति, सबैभन्दा धेरै असर धानबालीमा
काठमाडौं । गत शुक्रबारदेखि तीन दिनसम्मको अविरल बर्षासँगै आएको बाढी, पहिरो र डुबानले नेपालको कृषि क्षेत्रमा करिब ६ अर्ब रुपैयाँको क्षति भएको छ ।
कृषि विकास तथा पशुपन्छी मन्त्रालयले मंगलबार सार्वजनिक गरेको एक तथ्यांक अनुार देशका अधिकांश स्थानमा परेको अविरल बर्षाले बाढी, पहिरो र डुबान भएका कारण भएको बाली तथा पशुपन्छीको क्षति करिब ६ अर्ब रुपैयाँ भएको आँकल गरिएको छ ।
कृषि मन्त्रालयले सार्वजनिक गरेको एक विवरण अनुसार पछिल्लो प्राकृतिक विपत्तिले सबैभन्दा बढी धानबालीमा क्षति पुगेको छ । देशभरका ५८ हजार ४७६ हेक्टर धानबालीमा भएको क्षतिको कारण ३ अर्ब ५० करोड रुपैयाँको नोक्सान भएको अनुमान गरिएको छ ।
यस्तो क्षतिमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर वागलुङ, खोटा ङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेसहितका २० जिल्लामा बढी क्षति भएको छ ।
प्राकृतिक विपत्तिले खोटाङमा मात्रै १३ हजार हेक्टरमा लगाएको ७० करोड रुपैयाँको अलैंची खेती नस्ट भएको छ । पर्सामा ८५ हेक्टरमा लगाएको ३४ करोडको उखु खेति बाढीले नस्ट गरेको छ ।
धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका ४५८ हेक्टरमा गरिएकोमाछापालनमा भएको क्षति १ अर्ब १३ करोड रुपैयाँको भएको पनि कृषि मन्त्रालयले तयार पारेको क्षतिको विवरणमा उल्लेख छ।
कृषि मन्त्रालयका अनुसार भौतिक पूर्वाधारमा भएको क्षति १६ करोड रुपैयाँको अनुमान गरिएको छ। यस्तो पूर्वाधारहरुमा कृषि मन्त्रालय मातहतका लालबन्दी, गोदावरी, खुमलटार, मुसिकोट, फिकल, र्कीतिपुर, नवलपुरसहितका स्थानको कार्यलय भएको उल्लेख छ।
कृषि मन्त्रलायका अनुसार पाँचथर, धनकुटा, तेह्रथुममा २४ गोठमा क्षति पुगेको, विभिन्न जिल्लाका २६ हजार २०५ पशुन्छीको मृत्यु भएको, २२ हजार हेक्टरमा लगाइएको फूलखेती नस्ट भएको, ४७ सय ४३ हेक्टरको लगाइएको तरकारी नस्ट भएकोसहितको क्षति पनि पछिल्लो प्राकृतिक विपत्तिले दिएको छ ।
अन्य क्षेत्र र निकायबाट संकलन हुनुपर्ने क्षतिको विरण संकलन हुँदा कृषिक्षेत्रमा भएको नोक्सान अझै बढी हुने पनि कृषि मन्त्रालयको भनाइ छ ।