नेपालको बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको बचत कति सुरक्षित छ ?
नेपालमा औपचारिक बैंकिङ प्रणालीको सुरुवात भएको करिब ८ दशकभन्दा बढी भइसकेको छ । विसं १९९४ कार्तिक ३० गते नेपाल बैंक लिमिटेडको स्थापना भई बैंकिङ प्रणालीको प्रादुर्भाव भएको पाइन्छ । तत्कालीन समयमा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल बैंक लिमिटेडले आम नागरिकसम्म वित्तीय सेवा पुर्याउन सम्भव भने थिएन ।
सरकारी कारोबार त्यस समयमा नेपाल बैंक लिमिटेडको मुख्य कार्य थियो । क्रमश औधोगिक विकास बैंक,राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र संयुक्त लगानीमा नेपाल अरब बैंक हुँदै बैंकिङ व्यवसायले गती लिएको देखिन्छ ।
बैंक वित्तीय संस्थाहरुले मुख्यत निक्षप संकलन, कर्जा लगानी गर्ने,साख सिर्जना गर्ने लगायतका कार्य गर्ने गर्छन् ।
सबल वित्तीय प्रणाली हुन त्यहाँ आम नागरिकको बैंक वित्तीय संस्थाप्रति गहिरो विश्वास हुनु अत्यन्तै जरुरी छ । आफूले कमाएको रगत र पसिनाको कमाइ लगानी,प्रतिफल र सुरक्षाका दृष्टिकोणले मानिसहरुले बैंक वित्तीय संस्थाहरुलाई रोज्छन् ।
बैंक वित्तीय संस्थाहरु पनि वित्तीय मध्यस्थकर्ताहरु हुन् अर्थात निर्मम भएरभन्दा एक हिसाबले वित्तीय कारोबार गर्ने दलाल हुन् भन्न पनि सकिन्छ ।
जब आर्थिक उदारीकरणपछि निजी तथा संयुक्त लगानीमा बैंक वित्तीय संस्थाहरु स्थापना हुन थाले त्यसपछि यो पनि भन्न सकिन्छ की यो वित्तीय व्यवसाय पनि हो ।
बलियो नियमन, नियमित सुपरिवेक्षणका बीच बैंक तथा वित्तीय संस्थाहरुलाई आर्थिक विकास, अर्थतन्त्रको मौद्रिकीकरण, बचत परिचालन, वित्तीय साक्षरता अभिवृद्धि लगायतका महत्वपूर्ण अभिभारा दिएको हुन्छ ।
तर वित्तीय कारोबार गर्ने संस्थाहरु पनि व्यवसायि हुन् । उसोत व्यवसायीहरु अथवा मध्यस्थकर्ताहरु स्वभावैले लाभको लागि कार्य गर्ने गर्छन् । त्यसो त वित्तीय संस्थाहरुले अर्थतन्त्रको बचत इकाई (Surplus Unit) बाट लगानीयोग्य रकम संकलन गरि अर्थतन्त्रको घाटा इकाईमा प्रवाह गरि वित्तीय आवश्यकता परिपूर्ति गराई अर्थतन्त्रको मौद्रिकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
सबल, दरिलो र बलियो प्रणाली निमार्ण गर्ने वा वित्तीय प्रणालीलाई चलायमान गराउने मुख्य चालकहरु बैंक वित्तीय संस्थाहरु नै हुन् ।
अब हामी सजिलै अनुमान लगाउन सक्छौं कि एउटा चालकको भूमिका कति संवेदनशिल हुन्छ भन्ने । यस्तै भूमिका प्रत्येक बैंक वित्तीय संस्थाले वित्तीय प्रणालीमा निर्वाह गरेको हुनुपर्छ ।
वित्तीय क्षेत्र यति संवेदनशील छ कि भनिन्छ यहाँ सियोले सानो प्वाल खोप्यो भने पनि ठूलो भ्वाङ पर्छ । त्यसो त वित्तीय क्रियाकलाप पनि व्यवसाय भएकोले व्यवसायमा प्रतिस्पर्धा हुन्छ । उस्तै प्रकृतिका कारोबार गर्ने व्यवसायीहरु आफ्नो व्यवसायमा आकर्षित गर्न वा अरुलाई कमजोर बनाउन कुनै कसर बाँकी राखेका हुँदैनन् । यस्तो समयमा ती वित्तीय क्रियाकलापमा संलग्न हुने आम नागरिकहरु अन्यौलमा पर्ने गर्दछन् ।
विभिन्न खालका बैंक तथा वित्तीय संस्था धराशायी भए, टाट पल्टिए, डुब्दैछन् भन्ने खालका समाचारहरु पनि आइरहेका हुन्छन् । हामीलाई लाग्न सक्छ कुन बैंक तथा वित्तीय संस्था चाहीँ राम्रो हुन् त ? यसको लागि सम्बन्धित बैंक वित्तीय संस्थाको वित्तीय स्वास्थ्य बारे जानकारी हुनुपर्दछ । त्यसो त हाम्रो देशमा वित्तीय साक्षरता त्यो तहसम्म अझै पनि पुगेको छैन ।
आफूले कारोबार गरेको संस्थाको सम्बन्धमा पूर्ण वित्तीय अवस्थाको विश्लेषण गर्ने कुरा सबैका लागि सहज पनि हुँदैन। त्यस कारण पनि हल्ला सत्य हुन वा गलत भन्न भने सकिन्न त्यसका लागि बैंकहरुले गरेको लगानी कति सुरक्षित छ भन्ने जान्नु पर्दछ । हो यिनै विषयका सम्बन्धमा निरीक्षण, अनुगमन र सुपरिवेक्षण गर्ने महत्वपूर्ण जिम्मेवारी अभिभावकको हुन्छ ।
जसरी सन्तानको प्रतिस्पर्धालाई अभिभावकले नियालेर बसेको हुन्छ । जति सन्तानहरु स्वस्थ प्रतिस्पर्धा गरेर क्षमता अभिवृद्धि गर्छन् त्यति बेलासम्म अभिभावक खुसि हुन्छन् । भनिन्छ जित्ने दुई तरिकाहरु हुन्छन्, एक आफू अब्बल र सक्षम भएर, अर्को अरुलाई कमजोर बनाएर । यसरी र्हेदा पहिलो तरिकाबाट बैंक वित्तीय संस्थाहरु प्रतिस्पर्धा गरी सकरात्मक सिनर्जी प्राप्त गर्न सके अति उत्तम हुन्छ, तर दोस्रो तरिकाले आफूलाई राम्रो देखाउन प्रयत्न भयो भने घातक हुन्छ सक्छ । हो यी अवस्थाहरु समयमै पहिचान गरेर सकारात्मक प्रतिस्पर्धा गराउन नियमनकारी निकाय उद्यत भएको हुन्छ ।
वित्तीय प्रणालीलाई सबल, सक्षम बनाउन आम नागरिकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीहरु सही ढंगले व्यवसाय गर्न नसक्दा वा विभिन्न समस्याहरुसँग जुध्न नसक्दा टाट पल्टन वा डुब्न पनि सक्छन् । अब यहाँ एउटा बैंक तथा वित्तीय संस्था डुब्नु भनेको आम नागरिकको घरको चुलो निभ्नु पनि हो । त्यसैले वित्तीय क्रियाकलाप नभै पनि नहुने हुँदा पनि जोखिम चै भइरहने अवस्थाबाट मुक्ति पाउन सही ढंगले वित्तीय शिक्षा ग्रहण गरेर सधैँ सुरक्षाको उपाय खोजेर ढुक्क भएर बस्नु पर्छ ।
विश्वासको अभावले एउटा यस्तो खाडल पनि बन्न सक्छ जस्तो कि आम नागरिकमा आय आर्जनका प्रशस्त सम्भावनाहरु छन्, तर वित्तीय स्रोत जुटाउन नसकिरहेको एउटा अवस्था र अर्को वित्तीय मध्यस्तकर्ताहरुसँग प्रशस्त स्रोत छ तर आम नागरिकलाई विश्वास गर्न सकिने वातावरण छैन । यि दुवै अवस्थाहरु विश्वासको संकटका कारणले उत्पन्न हुने गर्छन् । हो यहाँ कुनै तेस्रो पक्षले ती जोखिम हामी उठाउँछौं तपाईंहरु ढुक्क भएर बैंक वित्तीय संस्थाको विश्वास गर्नुहोस् भनिदिए पो आनन्द हुने थियो भन्ने तपाईं हामीलाई लागेको हुनसक्छ ।
यस्तो कुनै न कुनै निकाय पक्कै हुन्छ । वित्तीय क्रियाकलाप गर्ने वित्तीय संस्थाहरु अत्यन्त अनुशासित मर्यादित र नियमनकारी निकायले जारी गरेका नीति निर्देशनहरुलाई सकारात्मक तवरले परिपालन गरि आफ्नो वित्तीय अभिभारा पूरा गर्नु पर्ने अवस्थामा रहँदा रहँदै पनि विभिन्न घटना परिघटना वित्तीय क्षेत्रमा देखिएको हुन्छ ।
सुशासनको चुनौती, समयमै समस्याको पहिचान गरी समाधान गर्न नसकेको वित्तीय क्षेत्रको एक महत्वर्पूण क्षेत्र सहकारीको समस्या यि र यस्तै उदाहरणहरु हेर्दा यस्तै विषयहरु ठूलो समस्या बन्ने कारणहरुका रुपमा देखा पर्दछन्।
निर्मम भएरभन्दा कुनै न कुनै निकायको कमजोरीकै कारण समस्या देखिएको भए पनि हामी त्यसको जिम्मेवारी कसैले बहन गरेको पाउँदैनौ । सजाय त आम नागरिक जसको चुलो निभेको छ, परिवारका सदस्यको उपचार नभएर ज्यान गुमेको छ, सन्ततिको उच्च शिक्षा गुमेको छ उनीहरुले पाइरहेका छन् । यस्तै परिणामहरुको सामना गर्नु पछाडिका चित्रहरु अनेक भए पनि केवल हामी आरोप प्रत्यारोपमात्र भएको देख्छौं । यस्तो हुनुको विभिन्न कारण मध्ये एउटा महत्वपूर्ण कारण सहकारी क्षेत्रको नियमन,सुपरिवेक्षण साथै बचत र कर्जाको सुरक्षण गर्ने बलियो निकाय नहुनु हो । त्यसो भए वित्तीय क्षेत्रलाई सुरक्षित गराई आम नागरिकको बचतको सुरक्षा गर्ने जिम्मेवारी कस्को त ?
अर्थतन्त्रको समग्र विकासका लागि सरकारी निजी र सहकारी अर्थतन्त्रका तिनै खम्बाहरु जिम्मवार रहनुपर्छ । आर्थिक उदारीकरणमा मुलक गई सकेपछि सरकारको भूमिका संरक्षकको मात्र हुने हो । त्यसैले वित्तीय क्षेत्रलाई सृदृढ गराउने अहम भूमिका वित्तीय मध्यस्थकर्ता र आम नागरिकको पनि हो । वित्तीय प्रणालीमा हाल भइरहेको अवाञ्छित गतिविधिमा सबैभन्दा बढी जिम्मेवार को छ त ? भन्ने प्रश्न रहन सक्छ । सबैभन्दा महत्वपूर्ण र कठिन प्रश्न नै यही हो । यसमा सबैभन्दा जिम्मेवार आम नागरिक हुन सकिएन भने त्यसको ठूलो दोषी आफैं हुनु पर्छ ।
भनिन्छ नि, दसा बाजा बजाएर आउँदैन ! त्यसैले हाम्रो वित्तीय प्रणाली सवल सृदृढ बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्दछ । एउटा अभिभावकको दृढ चाहना आफ्ना सन्तानहरुको उन्नती, प्रगति, इमानदारिता र आत्मनिर्भरता होस भन्ने हुन्छ । तर कहिले कहीँ यस्ता छोराछोरी जन्मन्छन् जो बाबुआमालाई ठग्ने गर्छन् । हो यस्तै खराब प्रवृत्तिबाट कुनै एक बैंक वित्तीय संस्था अभिभावकले दिएका आचरण नियम कानुन नमान्ने र आफ्नै किसिमले हिँड्दा दुर्घटनामा पर्ने सम्भावना हुन्छ । यहाँ एउटा व्यक्ति दुर्घटनामा पर्दा त एउटा परिवारलाई कठिनाई पर्छ भने एउटा बैंक वित्तीय संस्था समस्यामा रहँदा हजारौं परिवारहरु पिर चिन्तामा पर्नु स्वभाविक हो ।
यसले ठूलो विश्वासको संकट पैदा गरि हाम्रो वित्तीय प्रणालीप्रति सर्वसाधारणले गर्ने विश्वास भएन भने अर्थतन्त्रको मौद्रिकीकरण कसरी गर्न सकिन्छ ? त्यसका लागि अर्काको छोरो बिग्रियो भनेर समाजमा रमाएर बस्दा भोलि आफ्नो छोरो पनि उस्तै सँगत सिकेर बिग्रन सक्छ भन्ने हेक्का हुन जरुरी छ । जसरी अभिभावकबिहीन नेपालको वर्तमान सहकारी क्षेत्र आज कुन अवस्थामा छ ? त्यसैले सबै पक्ष समयमै सजक भएनौं भने यसबाट निम्तन सक्ने समस्याहरु हामीले सामान्यतया कल्पना गरेभन्दा पनि जटिल हुन सक्छ ।
वित्तीय क्षेत्रले अर्थतन्त्रमा मानव शरीरमा रक्तसञ्चार प्रणालीको जस्तै भूमिका निवार्ह गरेको हुन्छ । अब हामी सोचौं त हाम्रो रक्त सञ्चारमा समस्या भयो भने हामी स्वस्थ भएर बाँच्न सक्छौं त ?
कस्तो कस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु डुब्न सक्छन् ?
कुनै पनि क्षेत्रमा समस्या आउनुमा धेरै पक्षहरु जिम्मेवार हुन्छन् । कहीँ कतै कुनै न कुनै एक पक्षको भूमिका बढी भने अवस्य हुने गर्छ । मुलत आर्थिक मन्दी, युद्ध, प्राकृतिक विपद, रोगका महामारी, आर्थिक गतिविधि सुस्त हुँदा ऋणीहरुको दायित्व चुक्ता गर्ने क्षमतामा ह्रास आउँछ ।
यसरी त्यस्तो अवस्थामा अलि अलि जम्मा गरेको बचतको जरुरी पर्छ । हो बैंक वित्तीय संस्थाले लगानी गरेको रकम उठ्न नसक्नु र बचतकर्ताहरुलाई बचत बापतको रकम फिर्ता गनुपर्ने बाध्यता यिनै दुई अवस्थाका बीचमा सन्तुलन मिल्न नसक्दा बैंक वित्तीय संस्था धराशायी हुन्छन् । मानौं कुनै बैंक वित्तीय संस्थासँग पर्याप्त दायित्व चुक्ता गर्न सक्ने अचल सम्पत्ति छ तर तरल सम्पत्ति नहुँदा हाहाकार उत्पन्न भई तरलताकै कारण पनि बैंक डुब्न सक्छ ।
कुनै पनि व्यक्ति वा संस्था बलियो हुन आन्तरिक रुपमा नै बलियो हुनुपर्दछ । यसो त आन्तरिक र वाह्य कारण दुवै बैंक वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा असर गर्ने तत्वहरु हुन् ।
१९९० को दशकमा एसियाका बैंक वित्तीय संस्थामा आएको संकट, २००७/०८ मा भएको विश्वव्यापी आर्थिक संकट यि नै परिस्थितीको सिकाइले बैंकिङ प्रणालीमा वासेलले जन्म पायो र निरन्तर संकटसँग जुध्ने सामथ्र्य विकास पनि गर्दै गयो। अन्य कारणहरु जे भए पनि अन्तिम असर भने तरलतामै हुने हो । अब भनौं वित्तीय प्रणालीमा आउने समस्याको संकेत तरलताबाट सजिलै अनुमान लगाउन सकिन्छ ।
बचतकर्ता, ऋणी, उपभोक्ता, व्यवसायी,उद्यमी र बैंक एक आपसमा अन्तरसम्बन्धित पक्षहरु हुन् । यिनिहरु आपसी लाभको लागि दौडिरहेका हुन्छन् । यसरी कुनै न कुनै एक पक्षमा समस्या देखिँदा त्यसको असर रोजगारी, गरिबी, सुस्त आर्थिक गतिविधि हुँदै वित्तीय संकटको रुपमा देखा पर्छ । विश्वयुद्ध, महामारी, आन्तरिक द्वन्द, मुद्रास्फिति यस्तै यस्तै कारणहरु मुख्यत वित्तीय संकटमा देखिँदै आएका छन् ।
यसरी संस्थागत सुशासन नहुँदा पनि एकाध बैंक वित्तीय संस्थाहरु धराशायी भएका पाइन्छ ।
वित्तीय क्षेत्रको नियमकीय निकाय (अभिभावक) को हो?
कुनै पनि देशमा वित्तीय प्रणालीको नियमन र सुपरिवेक्षणका लागि एउटा निकाय गठन गरिएको हुन्छ । नेपालमा भने विसं २०१३ वैशाख १४ गते स्थापित नेपाल राष्ट्र बैंकलाई नै बैंक वित्तीय संस्थाको नियमकीय जिम्मेवारी प्रदान गरिएको थियो ।
नेपाल राष्ट्र बैंक ऐन २०१२ अन्तर्गत स्थापित यस नियमनकारी निकाय हाल नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत सञ्चालित छ। अभिभावकीय संस्था नेपाल राष्ट्र बैंकले केकस्ता कार्यहरु गर्छ भन्ने जान्न नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ५ लाई हेर्नु पर्छ ।
जसमा बैंक नोट तथा सिक्का निष्काशन गर्ने, मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गरी ति नीतिको कार्यान्वयन गर्ने ,विदेशि विनिमय नीति निमार्ण गरी ति नीति कार्यान्वयन गर्ने र गराउने, विनिमय पद्धतिदर निर्धारण गर्ने, विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने, गराउने, विनिमयदर पद्धति निर्धारण गर्ने, विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने, वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैंकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,नेपाल सरकारको बैंक सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने,वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने, भुक्तानी, फरछयौट (क्लियरिङ्ग) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रर्वधन गरी सो कार्यलाई नियमित गर्ने, र तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने, लगायतका महत्वपूर्ण जिम्मेवारी निवार्ह नियमनकारी निकायले गरिरहेको हुन्छ ।
तर यी सबै भूमिका अभिभावकको रुपमा नेपाल राष्ट्र बैंकले गर्दा पनि वित्तीय संकट भने देखिरहेका हुन्छन् । अब समग्र प्रणालीमै समस्या आउँदा त धेरै जटिल हुन्छ तर कुनै एक वा सोभन्दा बढी बैंक वित्तीय संस्थामा समस्या आउँदा त्यसको उपचारका प्रक्रिया पनि चरणवद्ध रुपमा ऐनमा व्यवस्था हुन्छ । यि नै व्यवस्थाको कार्यान्वयन गर्नु नेपाल राष्ट्र बैंकको दायित्व हो।
कस्तो अवस्थामा बैंक वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिन्छ ?
नेपाल राष्ट्र बैंक बैंकहरुको वित्तीय स्वास्थ्य जाँच गर्ने चिकित्सक हो । एउटा चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरिसकेपछि लक्षणका आधारमा रोगको पहिचान गरि हरसम्भव उपचारको प्रयास गरेको हुन्छ । हो यस्तै भूमिका नेपाल राष्ट्र बैंकको हुन्छ ।
यसरी निक्षेपकर्ता, सेयरधनी, साहू वा सर्वसाधारणको हित विपरीत हुने गरी कुनै कार्य गरेको देखिएमा,आफूले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेमा वा गर्न सक्ने सम्भावना नभएमा वा भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न नसकेमा,दामासाहीमा परेको वा पर्न लागेको वा उल्लेखनीय रुपमा आर्थिक कठिनाइ भोगिरहेको भएमा, वाणिज्य बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून, अन्य प्रचलित कानून, इजाजतपत्र प्रदान गर्दा तोकिएका शर्त वा बैंकको नियमन, निर्देशन वा आदेशको अवज्ञा वा उल्लंघन गरेको देखिएमा, झुट्टा, जालसाज, गलत कागजात या तथ्य पेश गरी इजाजत प्राप्त गरेको देखिन आएमा, प्रचलित कानून बमोजिम कुनै वाणिज्य बैंक वा वित्तीय संस्थाको खारेजी (लिक्विडेशन) वा फरफारख वा दामासाहि सम्बन्धी कानुनी कारवाही अघि बढाइएको भएमा, वाणिज्य बैंक वा वित्तीय संस्थाले आफूले गर्नुपर्ने भुक्तानी वा पूरा गर्नुपर्ने दायित्व या काम कर्तव्यमा प्रतिकुल असर पार्ने अवस्था विद्यमान भएको कुरामा बैंक विश्वस्त भएमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्छ ।
अर्थात त्यो बिरामी कोमामा छ, अब हामी के सहज अनुमान लगाउन सक्छौं भने कोमामा रहेको बिरामी निको हुने सम्भावना अत्यन्त कम हुन्छ । त्यसो त सास रहँदासम्म आस हुन्छ भने झै उपचार भने निरन्तर गरिन्छ र पुरानै अवस्थामा फर्काएर नयाँ जीवन दिनु चिकित्सकको मूल जिम्मेवारी हो ।
समस्याग्रस्त अथवा बिरामी बैंक वित्तीय संस्थाको उपचारको प्रक्रिया कस्तो हुन्छ ?
समस्या ग्रस्त बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले विभिन्न चरणमा सुधारात्मक कदम चाल्दछ । व्यवस्थापनलाई कारबाही गरेर सम्बन्धित बैंकको व्यवस्थापन नियन्त्रणमा लिएर उपचारात्मक प्रक्रिया अपनाएर त्यसलाई सुधार गर्न सचेत वा निर्देशन बैंकलाई केन्द्रीय बैंकले दिन्छ ।
जस्तै कुनै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष पुर्याउन सकेन भने बैंकको अवस्थालाई मध्यनजर गरेर बैंकलाई शीघ्र सुधारात्मक कारबाही प्रक्रिया अगाडि बढाउँछ । जस अन्तर्गत बैंकका उच्च व्यवस्थापनसँग छलफल गर्ने, पुँजीकोष पुर्याउन निर्देशन दिने, पुँजीकोष योजना माग्ने र सोही अनुसार कार्यान्यवन भए नभएको यकिन गर्ने, नयाँ शाखा विस्तारमा रोक लगाउने, नगद तथा बोनस सेयरमा वितरणमा रोक लगाउने, सम्बन्धित संस्थाको सञ्चालक तथा उच्च व्यवस्थापकको भत्ता, तलब तथा सुविधा वृद्धिमा रोक लगाउने, थप निक्षेप स्वीकार गर्न नदिने, नयाँ व्यावसायिक क्रियाकलापमा रोक लगाउने, कर्जा विस्तारमा रोक लगाउने, कर्मचारीको तलब वृद्धिमा रोक लगाउने लगायत अन्य निर्देशनहरु दिन्छ ।
यसका साथै नेपाल राष्ट्र बैंक आफैंले बैंकको व्यवस्थापन नियन्त्रणमा लिने आदि कदम चाल्न सक्छ भने निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा बढी भयो भने शाखा विस्तारमा रोक लगाउने, नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने सुविधाहरु रोक्ने जस्ता कार्यहरु गर्नसक्छ । सकेसम्म बैंक वित्तीय संस्थालाई पुरानै अवस्थामा ल्याउन हरसम्भव प्रयास केन्द्रीय बैंकले गर्छ।
भनिन्छ, कुलतमा फसेको मानिसलाई पुन: स्थापना गर्न सुधार केन्द्रमा हालिन्छ, हो त्यही भूमिका नेपाल राष्ट्र बैंकको हुन्छ । तर यस्तो अवस्थाबाट बैंकको वित्तीय स्वास्थ्य सुधार गर्न सकिएको अवस्थामा निक्षेपकर्ताको बचत सुरक्षित नै रहन्छ । तर यि सबै प्रक्रिया पूरा गर्दा पनि बैंकले दायित्व भुक्तानी गर्न नसक्ने लागेमा फरफारकको प्रक्रियामा जान्छ ।
यस पश्चात् बैंक वित्तीय संस्था खारेजी जान सक्छ । त्यस्तो अवस्थामा अदालत ले लिक्युडेटर नियुक्त गरी खारेजीको प्रक्रियामा जान्छ यसरी खारेज भएको बैंक वित्तीय संस्थाले सम्पूर्ण निक्षेपकर्ताको दायित्व पूरा गर्न सक्ने अवस्था नहुन सक्छ ।
विभिन्न समयमा बैंक तथा वित्तीय संस्था डुब्दै छन् भन्दै आउने हल्लामा कति सत्यता छ ?
कुनै पनि संस्थामा कुन समयमा समस्या आउँछ भन्न सकिन्न । कहिले कहीँ आफ्नै कारणले त कहिले कहीँ विभिन्न प्राकृतिक मानविय, राजनीतिक, विश्वको विभिन्न युद्ध महामारी आर्थिक संकट जुनुसुकै कारणले पनि वित्तीय प्रणालीमा समस्या आउँन सक्छ ।
अब बलियाहरु समस्यासँग जुध्छन् अनि निर्दाहरु मर्छन् । यो सामान्य प्रक्रियानै हो, व्यवसायको पनि जीवनचक्र हुन्छ जहाँ विभिन्न जटिलताहरु आइरहेका हुन्छन् । अब यो पनि भन्न सकिन्छ की आर्थिक रुपले सुविधा सम्पन्न देशमा पनि बैंक वित्तीय संस्थाहरु डुवेका छन् । केही महिना यता मात्र संयुक्त राज्य अमेरिकामा २ वटा बैंकहरु डुबेको समाचार हामी सबैले सुनेकै छौं । अब दुईमत छैन कि जँहा जुनसुकै अवस्थामा पनि बैंक वित्तीय संस्थाहरु डुब्न सक्छन् । मानिस पनि एक दिन अवश्य मर्छ, तर एक्कासी दुर्घटना भएर मर्छ वा लामो समय उपचार गर्दा पनि निको नभएर मर्छ । अब हामी कुनै बैंक वित्तीय संस्था बिरामी छ भन्ने कुरा बजार हल्लाबाट भन्दा नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, जो बैंक वित्तीय संस्थाको वित्तीय स्वास्थ्यको निगरानी राख्ने डाक्टर हो उसैको विश्वास गर्नुपर्छ ।
नेपाल बैंकको स्थापना भएदेखि ८७ वर्षको इतिहासमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा समस्या आएको र समस्याग्रस्त भए पनि अहिलेसम्म निक्षेपकर्ताहरुको निक्षेप डुबेको भने छैन । तर यो पनि होइन की नेपालमा बैंक वित्तीय संस्था डुब्दैनन् र हाम्रो पैसा सुरक्षित छ । यति चाहीँ भन्न सकिन्छ, नेपालमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकदमै नजिकबाट नियमन र सुपरिवेक्षण गरिरहेको छ ।
बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको पैसा सुरक्षित गराउने कुनै उपाय छैन त ?
अभिभावक वा नियमनकारी निकायको बलबुताले सबै परिस्थितिमा निक्षेपकर्ताको रकम सुरक्षित गराउन सक्दैनन् । यसरी वित्तीय संस्थामा राखेको रकम सुरक्षित नहुँदा वित्तीय प्रणालीप्रति नै विश्वासको वातावरण हटेर वित्तीय प्रणाली नै ध्वस्त हुने अवस्था सिर्जना हुन पनि सक्छ । यस्तो अवस्थामा आम निक्षेपकर्ताले पुकार गर्ने भनेकै भगवान हो ! यहाँ आम निक्षेपकर्ताका लागि भगवान बनेर देशमा यस्ता संस्थाहरु पनि रहेका हुन्छन् तीनले निश्चित हद सम्मको निक्षेपकर्ताको बैंकमा भएको रकमको सुरक्षाको प्रत्याभुति दिने गर्छन् ।
नेपालमा २०३१ साल अजोज ४ गते स्थापित निक्षप तथा कर्जा सुरक्षण कोषले आव २०६६/६७ बाट प्राकृतिक व्यक्तिको नाममा प्रति बैंक वित्तीय संस्थामा रहेको २ लाख रुपैयाँ सुरक्षित हुने गरि सुरु भएको निक्षेप सुरक्षण र्कायक्रममा आव २०७९/८० बाट ५ लाख रुपैयाँ सम्मको निक्षेपको सुरक्षण हुने गरि सीमा बढाएको छ । विश्वमा हालसम्म ११३ देशमा निक्षेप सुरक्षण गर्ने संस्थाहरु छन् । कतिपय देशमा निक्षेप र कर्जा दुवै सुरक्षण एउटै संस्थाले त कतिपयमा फरकफरक संस्थाले यस्तो कार्य गर्दै आएको पाइन्छ । यस बारे जानकारी भइसकेपछि निक्षेपकर्ताको मनमा जम्मा ५ लाख सम्मको निक्षेप सुरक्षण हुने र त्योभन्दा बढी रकम बैंक वित्तीय संस्थामा राख्न असुरक्षित रहेछ भन्ने मनमा लाग्न सक्छ । यो बुझाई पनि सत्य भने होइन । सत्य के हो त अब जानौं, नेपालमा हाल करिब ६० वटा बैंक वित्तीय सस्थाले निक्षेप संकलन गर्छन् ।
यसरी हेर्दा करिब ३ करोड सम्मको बैंक वित्तीय संस्थामा भएको निक्षेपलाई सुरक्षित गराउन सकिन्छ । अब फेरि ५ लाखबाट कसरी ३ करोड भयो भन्ने लाग्न सक्छ । विवेक पुर्याउनुपर्ने महत्वपूर्ण विषय यहाँ के छ भने निक्षेप पनि एक प्रकारको लगानी हो । एउटै बैंकमा लगानीलाई अधिकेन्द्रीत गर्दा बढी जोखिम सिर्जना हुन्छ, त्यसैलै प्रत्येक बैंकमा ५–५ लाख गरेर बाँडेर पैसा राख्दा बैंक संख्या गुणन ५ लाखले झन्डै ३ करोड रकम सुरक्षित हुने भए पछि मूल सन्दर्भ हामी विवेक पुर्याउन सक्छौं कि सक्दैनौं, आम नागरिकसम्म यी सन्देश पुग्छन् की पुग्दैनन् भन्ने हो । नेपालमा आम नागरिकले उचित वित्तीय शिक्षा प्राप्त गर्न सकेमा वा सरोकारवाला निकायले पनि जनचेतना कुनाकाप्चासम्म पुर्याउन सकेमा बैक वित्तीय संस्थामा रहेको आम नागरिकको हदैसम्मको रकम सुरक्षित बनाई ढुक्क भएर निदाउन सक्ने अवस्था छ ।
कुनै बैंक वित्तीय संस्था समस्यामा छ भनेर आम जनमानसलाई त्रासमा राख्नु, जिम्मेवार भनिएका मानिसहरु आफैंमा आत्तिनु, स्वार्थ केन्द्रित भएर एकले अर्काको खुट्टा तान्नु भनको कहीँ न कहीँ आफूले फिँजाएको जालमा आफैं पर्नु हो । त्यसो त समस्या नै नआउने संसारमा कुनै पनि चिज छैन । हो यस्ता समस्या आउँदा कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा चनाखो भएर, जिम्मेवार र शिक्षित नागरिकको भूमिका शिक्षित वर्गले समेत नपुर्याएको देख्दा अच्चम पनि लाग्ने गरेको छ । कुनै एउटा बैंक बिग्रियो भने त्यो बैंक मात्र नभई समग्र देशको अर्थतन्त्रलाई पनि नकारात्मक असर पर्ने भएकोले तथ्य नै नबुझिकन भ्रामक प्रचार प्रसार गर्नु राम्रो हुँदैन ।
कुनै विषयका सम्बन्धमा हल्लाका पछि लाग्दा हामी नआउने समस्या पनि आफैं निम्त्याइरहेका हुन्छौं । हो कुनै विषयको यथार्थता जान्न सम्बन्धित संस्था वा नियमकीय निकायबाट यथार्थ जानकारी लिनुपदर्छ । हरेक चिज बनाउन जति गाह्रो हुन्छ बिग्रन कति पनि समय लाग्दैन । त्यसैले संवेदनशिल विषयका सम्बन्धमा अत्यन्त संवेदनशिल भएर प्रकट हुनुपर्छ । भनिन्छ नी, रोग लागेपछि पछुताउनुभन्दा रोग लाग्न नदिन स्वस्थकर जीवनशैली अपनाउनुपर्छ । यहाँ स्वस्थकर बैंकिङ कारोबार अर्थात एउटै बैंक वित्तीय संस्थामा धेरै रकम बचत नगरी बाँढेर बचत राख्न सकियो भने फाइदा पुग्छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आम नागरिकलाई चिन्ता, भय मुक्त बनाएर विश्वासिलो वित्तीय प्रणाली निमार्णमा अतुलनीय भूमिका निवार्ह गरेको छ । यो निक्षेप सुरक्षणको व्यवस्थालाई सही ढंगले निक्षेपकर्ता वा आम नागरिकलाई बुझाउने जिम्मेवारी सबै सरोकारबाला निकाय, शिक्षित वर्ग, राज्यका सबै निकाय, वित्तीय मध्यस्थकर्ताहरु र आम सञ्चारजगत सबैको हो ।
(लेखक रमेश दाहाल निक्षेप तथा कर्जा सुरक्षण कोषमा कार्यरत छन् ।)