कोशीमा बाढी पहिरोमा परेर ६ को मृत्यु, ९ वेपत्ता



विराटनगर । तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर शनिवार विहानसम्ममा कोशी प्रदेश ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यो अवधिमा बाढीले वगाएर ९ जना बेपत्ता छन् । सयौं घर डुवानमा परेर हजार भन्दाबढी विस्थापित भएको प्रहरीको तथ्यांक छ ।

प्रहरीका अनुसार इलाम, धनकुटा र पाँचथरमा मानविय क्षति भएको हो । धनकुटा नगरपालिका ५ पाख्रिवासमा गएराती पहिरोले घर पुरिँदा रामकुमारी तामाङ र उनकी छोरी आशा तामाङको मुत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यहाँ मीन माया तामाङ घाइते भएकी छन् ।

पाँचथरको फिदिम ४ चिसापानीमा घरमाथि पहिरो खस्दा सपना शेर्पा र उनकी ६ वर्षिय छोरी डोल्मा शेर्पाको ज्यान गएको छ । प्रहरीका अनुसार फिदिम १ का ५० वर्षिय गोपी विश्वकर्माको पनि पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी फिदिम १ फेमेखोला नजिक पहिरो जाँदा कृष्ण दास, कमला दास,राजेश तम्बापा, सरस्वती तुम्वापो र धनकुमार तुम्वापो वेपत्ता भएका छन् ।

इलाम माइ नगरपालिका ८ का ६८ वर्षिय मैतराज लिम्वु सेते खोला तर्ने क्रममा बगरेर मृत्यु भएको छ । प्रहरीका अनुसर झापामा तिन र मोरङमा एक जना खोलाल वगाएर वेपत्ता भएका छन ।

यसैवीच अविरल वर्षापछिको बाढीले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएसँगै कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खुला गरिएको छ । शनिवार विहानको मापन अनुसार कोशी ब्यारेजमा ४ लाख १९ हजार क्यूसेक पानी छ । तराईसँगै कोशीका पहाडी जिल्लामा पनि अत्याधिक वर्षा भएपछि कोशीमा पानीको वहाव उच्च भएको हो । गएको असार २३ गते कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा ब्यारेका सवै ढोका खुला गरिएको थियो ।


विनोद भण्डारी