एक सातादेखि सुनको मूल्यमा दिनहुँ रेकर्ड, किन बढिरहेको छ मूल्य ?



काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा वृद्धि भइरहेको छ । साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा नेपाली बजारमा सुनकिो मूल्य अहिलेसम्मकै महँगो बनेको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो साताको पहिलो सूची सार्वजनिक भएको दिन आइतबारयता सुनको मूल्य दैनिक बढिरहेको छ ।

गत शुक्रबार प्रतितोला १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुन आइतबार १ लाख ५८ हजार ८००, सोमबार १ लाख ५९ हजार २००, मंगलबार १ लाख ५९ हजार ७००, बुधबार १ लाख ६० हजार ४०० र बिहीबार १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबारदेखि यस शुक्रबारसम्म सुनको मूल्यमा ४ हजार १ सय रुपैयाँ तोलामा वृद्धि भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले चाडबाड नजिकिएकाले सुनको मूल्यमा वृद्धि नभएको बताए। ‘कतिपयले दशैं, तिहार लगायतका चाडपर्व आएकाले सुनको मूल्य बढेको बताउँछन् । तर यससँग सुनको कुनै सम्बन्ध हुँदैन,’ शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमै भाउ बढेपछि यहाँ बढेको हो ।’

विश्वमा भइरहेका विभिन्न घटनाक्रमले पनि सुनको मूल्यमा प्रभाव पार्ने उनी बताउँछन् । इरान र इजरायल तनाव, रुस युक्रेन द्वन्द्व लगायतले पनि सुनको मूल्य वृद्धिमा सहयोग गरेको उनको भनाइ छ ।

विश्वका केन्द्रीय बैंकहरूले सुन भण्डारण बढाउँदा पनि सुनको मूल्यमा बढोत्तरी भएको उनको भनाइ छ ।

त्यस्तै बैंकहरुले ब्याजदर घटाउँदा लगानी सुनमा बढेको उनको भनाइ छ ।

पछिल्लो समय मध्यपूर्वमा बढिरहेको तनाबले विश्व राजनीतिलाई तरंगित पारिरहँदा त्यसले सुन लगायतका धातुको व्यापारलाई प्रत्यक्ष असर पारिरहेको बताइन्छ । विशेषगरी सुनको कारोबारलाई त्यसले प्रभावित बनाइरहेको छ । र यो असर नेपालसम्मै आइपुगेको छ ।

पछिल्लो समय सुनको मूल्य तीब्र रुपमा बढिरहँदा नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि मध्यपूर्वको तनाबका कारण यस्तो अवस्था आएको बताएको छ । पछिल्लो एक साताको अवस्था हेर्दा नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड नै बनाएको छ । यसका लागि केही कमजोर अमेरिकी आर्थिक आँकडा र फेडरल रिजर्भको कमजोरीका कारण भनिए पनि सुनचाँदी व्यवसायी महासंघले प्रमुख रुपमा मध्यपूर्वमा बढ्दो तनावलाई नै कारण मानेको छ ।

किन यति तीब्र बढिरहेको छ सुनको मूल्य ?

सामान्यतया सुनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुरुप नै नेपालमा पनि मूल्य तोकिएको हुन्छ। तर पछिल्लो समय सुनको मूल्य वृद्धि भएको विषयले नेपाल मात्रै नभएर विश्वका अन्य धेरै देशमा यसले चर्चा पाइरहेको छ ।

सुनको उत्पादन सीमित हुन्छ । तर पछिल्लो समय सुनको माग अत्यधिक रुपमा यसको मूल्यमा पनि तीब्र रुपमा वृद्धि भएको छ । विशेषगरी विभिन्न देशमा युद्ध र तनाब बढिरहँदा चीन, अमेरिका, भारत जस्ता देशका केन्द्रीय बैंकहरुले सुनको सञ्चय बढाइरहेका छन् । अर्थात् ती देशहरुले सुनको माग पहिलेभन्दा धेरै बढाइरहेका छन् ।

दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको केन्द्रीय बैंकले मात्रै २०२२ को नोभेम्बरदेखि हालसम्म २ वर्षभन्दा कम अवधिमा करिब ३५० टन सुन खरिद गरिसकेको छ ।

२०२३ मा मात्रै चीन विश्वकै सबैभन्दा धेरै सुन खरिद गर्ने देशको रुपमा रह्यो । त्यसो त चीन सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशको रुपमा चिनिन्छ । तैपनि उसले खरिद पनि धेरै नै गरिरहेको हुन्छ । यस वर्षको जनवरीदेखि अप्रिलसम्म मात्रै चीनले २८.९ टन सुन खरिद गरेको छ ।

तर पछिल्लो दुई महिना मे र जुनको सुरुमा खरिद कम गरे पनि जुनको अन्त्यसम्म भने चीनले २ हजार २ सय ६४ टन सुन संचय गरिसकेको छ । यसरी हेर्दा चीनले कोरोना महामारीभन्दा पहिलेको समय २०१८ को अन्त्यमा सुन संचय गरेको तुलनामा हाल २२ प्रतिशतले बढी सुन सञ्चय गरेको हो ।

चीनमा पछिल्लो समय घरजग्गाको व्यापार र सेयर बारोबारमा शिथिलता आएर व्यवसायीहरु निरुत्साहित भइरहँदा आम व्यवसायी तथा उपभोक्ताहरु पनि सुरक्षित लगानीको रुपमा सुनको खरिद बढाइरहेका छन् । त्यसो त चिनियाँ केन्द्रीय बैंकले अप्रत्यसित रुपमा सुनको संचय बढाइरहनुलाई कतिपयले आलोचना पनि गर्दै आएका छन् ।

यसैगरी भारतको केन्द्रीय बैंकले २०२४ को मार्चमा मात्रै ५ टन सुन खरिद गरेको छ । र यस वर्षको सुरुको ३ महिनामा भारतीय केन्द्रीय बैंकले १९ टन सुन खरिद गरिसकेको छ । जवकि २०२३ को वर्षभर भारतले जम्मा १६ टन सुन खरिद गरेको थियो ।

यसैगरी पछिल्लो १० महिनाको अवधि हेर्दा सबैभन्दा ठूलो सुन खरिदकर्ता पोल्यान्डको केन्द्रीय बैंक थियो । त्यसपछि टर्की थियो भने तेस्रोमा भारतको केन्द्रीय रिजर्भ बैंक थियो ।

विश्व सुन काउन्सिलको तथ्यांक अनुसार २०२३ मा मात्रै विश्वभरका केन्द्रीय बैंकहरुले १ हजार ३७ टन सुन खरिद गरेका थिए । २०२३ मा चीन सबैभन्दा ठूलो सुन खरिदकर्ता देश भए पनि यसको संचय भने अमेरिकासँग धेरै छ ।

सबैभन्दा धेरै कुन देशसँग छ सुन ?

मध्यपूर्वको तनाब र डलरको भाउमा आउने उतारचढावका कारण धेरै देश तथा वित्तीय संस्थाहरुले सुनको खरिद पनि तीब्र रुपमा बढाइरहेका छन् । वर्ल्ड गोल्ड काउन्सिलको मे महिनाको पछिल्लो तथ्यांकअनुसार अमेरिकासँग ८ हजार १ सय ३३ टनभन्दा धेरै सुन संचय छ । जुन समग्र संचयको ७२.६ प्रतिशत हो ।

यसैगरी जर्मनीसँग ३ हजार ३ सय ५१ टनभन्दा धेरै सुन संचय छ । जुन ७१. ८ प्रतिशत हो । यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २ हजार ८ सय १४ टन सुन संचय छ । इटालीसँग २ हजार ४ सय ५१ टन सुन संचित छ ।

यसपछि क्रमश फ्रान्स, रुस र चीन भने सातौं नम्बरमा छ । जससँग २ हजार २ सय ६४ टनभन्दा धेरै सुन संचित छ । यद्यपि पछिल्लो समय तीब्र रुपमा सुन खरिद गर्ने देशमा भने चीन सबैभन्दा अगाडि छ । यसैगरी छिमेकी देश भारत १०औं नम्बरमा छ । जसको साथमा ८३१ टन सुन संचित छ । यो संचय समग्र सुनको ९.५ प्रतिशत हो ।

जब २०१५ पछि चीनले अमेरिकासँगको तनाबका कारण आफ्नो डलरको संचय घटाएको थियो त्यसपछि उसले सुन संचयमा आफूलाई केन्द्रित गरेको बताइन्छ । यसरी २०१५ देखि २०१६ को अवधिमा मात्रै चीनले ८ सय टन सुन संचय गरेको थियो ।

यसवाहेक २०२४ को दोस्रो ६ महिनामा अमेरिकामा राष्ट्रपति चुनावसँगै त्यहाँको सरकारले संघीय ऋणको सीमा बढाउने तयारी भइरहँदा चीनले भने त्यस अवधिमा थप सुन खरिदलाई तीब्रता दिनसक्ने विश्लेषकहरु बताउँछन् ।


क्लिकमान्डु