प्रधानमन्त्रीलाई सुमनाको प्रश्न: स्वदेशका युवालाई तुच्छ व्यवहार गर्ने, अमेरिकामा रहेकालाई कुन नैतिकताले फर्क भन्ने ?



काठमाडौं । पूर्वशिक्षामन्त्री एवं रास्वपाको नेतृ सुमना श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अमेरिकामा रहेका नेपाली युवाहरुलाई स्वदेश फर्कन आह्वान गर्नका लागि नैतिक धरातल नभएको संकेत गर्दै प्रश्न गरेकी छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई सांसद श्रेष्ठले प्रश्न सोधेकी छन्, ‘मेरो तर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला- नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलदेखि फर्क भन्ने हो ?’

सोमबार सामाजिक सञ्जालमा लेख्दै सांसद श्रेष्ठले यस्तो प्रश्न गरेकी हुन् । अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा प्रधानमन्‍त्री ओलीले सम्बोधन गर्नुअघि उनको सम्बोधन सुन्न र प्रश्न सोध्नका लागि पनि उनले आग्रह गरेकी छन् ।

फेसबुकमा सांसद सुमनाले सोधेकी छन्, ‘नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन सपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नु भएको छ। न्यू योर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है।’

आइतबार रास्वपाका सभापति रवि लामिछानेले पनि प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै न्युयोर्कबाट आँखा नसन्काउन चेतवनी दिएका थिए । प्रधानमन्त्री ओलीले भने अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका नेताहरुसँग भेट गरेका छन् ।


क्लिकमान्डु