प्लाइउड उत्पादन गर्ने भगवती लेमिनेट्सको व्यापार बढ्यो
काठमाडौं । नेप्लाई ब्राण्ड नाममा प्लाइउड तथा त्यसका सामग्रीहरुको उत्पादन गर्ने कम्पनी भगवती लेमिनेट्सको व्यापारमा वृद्धि भएको छ ।
सन् २०२१ मा ६४ करोड ८० लाखको व्यापार गरेको कम्पनीको व्यापार निरन्तर बढिरहेको छ । सन् २०२२ मा यो कम्पनीले ७८ करोड ४० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२३ मा यसले ९९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
त्यस्तै सन् २०२४ मा यसले १ अर्ब ४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् २०१६ मा सुरु भएको यो कम्पनीले प्रदेश १ को झापा जिल्लास्थित मेचिनगर नगरपालिकामा रहेको उत्पादन कारखानाबाट प्लाइउड सम्बन्धी सामग्रीहरुको उत्पादन गर्ने गरेको छ ।
कम्पनीको झापास्थित कारखानामा वर्षेनी ३४ लाख २० हजार स्क्वायर मिटर प्लाइउड र १२ लाख पिस लेमिनेट्स उत्पादन गर्ने क्षमता रहेको छ ।
कम्पनीको स्वामित्व भने विभिन्न ७ व्यक्तिसँग रहेको छ । यीनिहरुमा विनित अग्रवात, रजनिश कर्ननी, निर्मला कर्ननीलगायत रहेका छन् ।
व्यापारमा वृद्धि भइरहँदा कम्पनीको कर्जा क्षमतामा भने कमि आएको छ । यसअघिको रेटिङमा रेटिङ एजेन्सी इक्रा नेपालले १ अर्ब १० करोडको कर्जा सुविधाका लागि रेटिङ दिएकोमा यस पटक ७४ करोड १६ लाखको कर्जा सुविधाका लागि रेटिङ दिएको छ ।
जसमा ४० करोड १६ लाखको दीर्घकालिन कर्जा सुविधाका लागि एल डबल बी माइनस र ३४ करोडको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिइएको छ ।