वृज सिमेन्टको व्यापारमा गिरावट, १ अर्ब १९ करोडको कारोबार
काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको व्यापारमा कमी आएको छ ।
सन् २००० मा स्थापना भएको यो कम्पनीको व्यापारमा विगत चार वर्षदेखि निरन्तर गिरावट आइरहेको थियो ।
सन् २०२१ मा २ अर्ब ९९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२२ मा २ अर्ब ४९ करोड ९० लाखको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीको व्यापारमा कमी आएर २ अर्ब १२ करोड २० लाखको व्यापार गरेको थियो ।
सन् २०२४ मा पनि यसको व्यापारमा गिरावट आएको छ । सन् २०२४ को सुरुवाती ९ महिनामा कम्पनीको व्यापार १ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ ।
सन् २००० मा स्थापना भएको यो कम्पनीले १२ सय टन प्रतिदिनको ग्राइन्डिङ क्षमताका लागि अनुमित पाएको छ । केडिया समूहको ५० प्रतिशत स्वामित्व रहेको कम्पनीमा बाँकी ५० प्रतिशत स्वामित्व भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिसँग रहेको छ । ब्रिजले मुख्यत दुई ब्रान्ड नाममा ओपिसि सिमेन्ट, पाँच ब्रान्ड नाममा पिपिसी सिमेन्ट र एक ब्रान्ड नाममा पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।
यसको उद्योग रुपन्देही जिल्लाको गोनाहामा रहेको छ ।
व्यापारमा गिरावट आएको कम्पनीले हाललाई ८९ करोड ५३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ पाएको छ । जसमा रेटिङ एजेन्सी इक्रा नेपालले २८ अर्ब ५४ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एल बि प्लस र ६० करोड ९९ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।