‘एनसेल फाउन्डेसन’ घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोडको सामाजिक योगदान गर्ने प्रतिबद्धता



काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ ।

‘विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरी २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढीको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,’ मंगलबार वार्षिकोत्सव समारोहमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्‍याउनु एनसेल फाउन्डेसनको भिजन रहेको पनि बताइएको छ । फाउन्डेसनको उद्देश्यहरुमा आवश्यकता भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने पनि रहेको छ ।

एनसेलले वृहत्तर हितको पक्षमा सामाजिक कार्यहरु गरेको उल्लेखनीय ट्र्याक रेकर्ड छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो ।

साथै आफ्ना परिवारजन तथा आफ्न्तहरुसँग सम्पर्कमा रहिरहन कम्पनीले ग्राहकहरुलाई १ अर्ब ६० करोड रुपयाँ बराबरको सेवा सुविधाहरु निःशुल्क उपलब्ध गराएको थियो । कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो ।

गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्‍याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो र भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरुलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।

त्यसैगरी २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरुको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो ।

१९औं वार्षिकोत्सवको क्रममा एनसेल फाउन्डेसनले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । ‘एनसेलले टावरहरू राख्ने, मानिसहरुलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन । सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिम अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्य सहित अगाडि बढेको कम्पनी पनि हो एनसेल,’ जाब्बोरले भने ।

कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ । जाब्बोरले गत वर्ष एनसेलले कसरी पलेशालाई सहयोग गर्ने निर्णय लियो भन्ने बारेमा पनि बताए ।

‘एक वर्षअघि एनसेलको वार्षिकोत्सवको अवसरमा हामीले पारालिम्पिक कमिटी नेपालसँग भेट गरी हामी तपार्इंहरुको संस्थामार्फत पारा खेलाडीहरुको विकासको लागि सहयोग गर्न चाहन्छौं भन्दा उहाँहरुले विश्वास नै गर्न सक्नुभएको थिएन । यो एक नितान्त सामाजिक पहल अन्तर्गत जहाँ सहयोग पुगेको छैन त्यो क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्य अनुरुप गरिएको सहकार्य थियो,’ सीईओ जाब्बोरले भने ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि सधैं सँगै’ र एनसेल फाउन्डेसनको शुमारम्भसँगै एनसेलले आफ्नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरुका साथ धेरै भन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको छ ।

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरु कार्यान्वयन गरिने बताइएको छ । र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन् ।

कसरी सुरु भएको थियो एनसेल ? के-के गर्‍यो ?

सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेलले मेरो मोबाइलको नाममा आफ्नो यात्रा सुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ ।

‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरु, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोयउन हामी तत्पर छौ,’ जाब्बोरले भने ।

नेपालको एक ठूलो करदाताको रुपमा एनसेलले आफ्नो स्थापना कालदेखि आजसम्म ३२० अर्बभन्दा बढी सरकारलाई कर तथा शुल्कहरु बुझाउँदै नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको छ ।

सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्याण्डदेखि प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवादेखि क्लाउड र डेटा सेन्टर सेवासहित नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पूरा गर्न नयाँ सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको कम्पनीले जनाएको छ ।

१९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरु जस्तै वृक्षरोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्छ ।


क्लिकमान्डु