चिनियाँ जासुसको आरोप लागेकी अमेरिकी कर्मचारी: चीनले दियो ८३ करोडको आलिशान घर, गाडी र उपहार



एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित एक शीर्ष अधिकारीमाथि चीनका लागि जासुसी गरेको अभियोग लागेको छ । उच्च अधिकारी लिन्डा सनले कोरोना महामारीको क्रममा न्युयोर्क राज्यको एक आधिकारिक अनलाइन मिटिङको पहुँच चीन सरकारलाई दिएको आरोप लगाइएको छ ।

आरोप अनुसार त्यसबखत लिन्डा सन अर्थात् चिनियाँ जासुस, अमेरिकामा अन्डरकभर एजेन्टको रुपमा थिइन् । उनी करिब १४ वर्षदेखि अमेरिकामा रहँदै आएकी छन् । यसबीचमा उनी न्युयोर्क राज्यको गभर्नरको डिपुटी चिफ अफ स्टाफको पदसम्म पुगेकी थिइन् ।

४१ वर्षीया लिन्डाले चिनियाँ अधिकारीहरुलाई सहयोग गर्नका लागि आफ्नो पदको दुरुपयोग गरेको अमेरिकी सरकारी वकिलहरुको आरोप छ । उनले ताइवानका नेताहरुलाई न्युयोर्क राज्यको सरकारसँग सम्पर्क गर्न रोकेको पनि आरोप छ । साथै बेइजिङसँग आन्तरिक दस्तावेज सेयर गरेको पनि उनीमाथि आरोप छ । यसको बदलामा चीनले लिन्डा र उनका पति क्रिस्टोफर हुलाई लाखौं डलरको उपहार दिएको पनि बताइएको छ ।

चीनको सहयोग

सरकारी वकिलका अनुसार चीनबाट प्राप्त भएको पैसाले उनले न्युयोर्कमा ४१ लाख अमेरिकी डलरको आलिशान घर समेत खरिद गरेकी छन् । अदालती दस्तावेज अनुसार लिन्डाको दम्पतीले अमेरिकाको हवाइ राज्यको होनोलुलुमा पनि २१ लाख डलरको सानदार घर खरिद गरेका थिए ।

यसरी हेर्दा लिन्डा दम्पतीले घर बनाउन चीनबाट पाएको भनिएको रकम मात्रै ६२ लाख अमेरिकी डलर (८३ करोड ११ लाख ७८ हजार रुपैयाँ) भन्दा धेरै हुन्छ । यसवाहेक यो जोडीले फरारी रोमा स्पोर्ट्स कारको नयाँ मोडेलसहित अन्य केही लग्जरी गाडीहरु पनि खरिद गरेका छन् ।

तर मंगलबार ब्रुकलिन फेडरल कोर्टमा दुई जनाले बयानको क्रममा विदेशी एजेन्टको रुपमा काम गरेको र मनीलन्ड्रिङ लगायतका आरोप इन्कार गरेका छन् । अमेरिकी कानुन अनुसार अन्य देश, राजनीतिक दल वा उनीहरुको हितका लागि काम गर्ने नागरिकहरुलाई विदेशी एजेन्टको रुपमा दर्ता गर्नुपर्ने हुन्छ ।

लिन्डाले जानीबुझी चिनियाँ अधिकारीहरु तथा प्रतिनिधिहरुका लागि काम गरेको कुरा लुकाइरहेको भन्दै उनीमाथि कारबाही गर्नुपर्ने सरकारी वकिलको माग छ ।

लिन्डामाथि प्रमुख रुपमा के आरोप छ भने उनले २०२० मा कोरोना महामारीको क्रममा चिनियाँ कन्सुलेटका अधिकारीहरुलाई न्युयोर्क राज्यका नेताहरुलाई भेट गराएकी थिइन् । उनले कोरोनाको बारेमा भइरहेको एक बैठकको कुराकानीमा लुकेर एक चिनियाँ अधिकारीलाई पनि सहभागी गराएको आरोप सरकारी वकिलको छ ।

यससँगै ताइवानका अधिकारीहरुलाई अमेरिकी अधिकारीहरुसँग भेट गराउने विषयमा पनि उनले अवरोध गरेको बताइएको छ । ताइवानको एक कार्यक्रममा न्युयोर्कका एक शीर्ष नेतालाई हटाएपछि लिन्डाले २०१६ मा एक चिनियाँ अधिकारीलाई भनेकी थिइन्, “यो सबै सही तरिकाले गरिएको हो ।”

यसैगरी २०१९ मा ताइवानका राष्ट्रपतिको न्युयोर्क यात्राको क्रममा लिन्डालाई बेइजिङ समर्थक विरोध प्रदर्शनमा सहभागी भएको देखिएको पनि आरोप लागेको छ । यससँगै लिन्डाले विभिन्न समय र अवसरमा अमेरिका र चीनसँग जोडिने राजनीतिक मामिलाबारे चिनियाँ अधिकारीहरुसँग गोप्य कुराकानी गर्ने गरेको पनि खुलासा भएको छ ।

उनले म्यासेज र फोन मार्फत चिनियाँ अधिकारीहरुसँग गरेका कुराकानी सार्वजनिक भएका छन् । यस्तै गभर्नर क्याथी होचुलले चिनियाँ नया वर्षको उपलक्ष्यमा लेखेको मन्तव्य पनि लिन्डाले पहिले नै चिनियाँ अधिकारीहरु समक्ष पठाएको बताइन्छ । र २०२३ को उक्त मन्तव्य गभर्नरको अनुमति बिना नै लेखिएको पनि आरोप छ ।

जासुसीको सट्टामा लिन्डा र उनका पतिलाई चिनियाँ अधिकारीहरुले ठूलो धनराशि दिएको सरकारी वकिलको दाबी छ । उनीहरु दुई जनालाई प्राप्त भएको उपहारमा चीनको यात्राको सम्पूर्ण खर्च पनि समावेश थियो । त्यहाँको सांगीतिक कार्यक्रम र खेल आयोजनाको टिकट लगायतका सुविधा छन् ।

यससँगै लिन्डाका एक आफन्त भाईलाई चीन सरकारबाट पर्याप्त सुविधा र अवसर पाएको पनि बताइएको छ । यससँगै विभिन्न १० आपराधिक मुद्दामा मंगलबार लिन्डा र उनका पतिलाई गिरफ्तार गरिएको थियो ।

लिन्डाका वकिलले भने लिन्डा र उनका पति अदालतमा ती आरोपको सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । हाल उनीहरुलाई रिहा गरे पनि अमेरिकाका तीन राज्यमा मात्रै यात्रा गर्ने अनुमति दिइएको छ । साथै चिनियाँ अधिकारीहरुसँग कुराकानी गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

-बीबीसीबाट


क्लिकमान्डु