मदन पुरस्कार मैनालीलाई, जगदम्बा श्री यादवलाई



काठमाडौं । यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’ ले प्राप्त गरेको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारणसभाले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

वर्षभर लेखिएका आख्यान र गैरआख्यान पुस्तकहरुको मूल्यांकन गरी हरेक वर्ष उत्कृष्ट पुस्तकका लागि दिइने मदन पुरस्कार ४ लाख राशिको हुन्छ ।

लेखन तथा वृत्तचित्र निर्माणमा उच्च छवि बनाएका मोहन मैनालीका उपल्लो थलो (सन् २०२०), मैले देखेको देश (२०१८), मान्ठा डराएको जुग (२०१५), आकाशमुखी (अनुवाद) पुस्तक प्रकाशित छन् । पछिल्ला वर्षहरुमा मदन पुरस्कार गुठीले पुरस्कार घोषणा गर्नुअघि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गर्दै आएको छ ।

नेपाल–अंग्रेज युद्धसँग सम्बन्धित कृति मुकाम रणमैदानले अंग्रेजसँगको युद्धका क्रममा नेपालीले प्रदर्शन गरेको वीरताको व्याख्या गरेको छ । जुन अनुसन्धानमूलक गैरआख्यान हो । मैनालीको जोगीमाराका ज्युँदाहरू नामक वृत्तचित्रले निकै प्रसंसा पाएको थियो ।

यसैबीच प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री पुरस्कारबाट सम्मानित गरिएको छ । यादवको परिचय पनि गैरआख्यान लेखनमा छ । जगदम्बा–श्रीबाट पुरस्कृत यादव भाषाशास्त्रीसमेत हुन् । यादव लामो समय त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञानमा प्राध्यापन गर्नुका साथैप्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सदस्य पनि थिए ।


क्लिकमान्डु