एकनारायण अर्याल मुख्यसचिव नियुक्त



काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो । मुख्यसचिव लिलादेवी गड्तौलाले शुक्रबार (भोली) बाट अवकाश पाउने भएपछी रिक्त पदमा अर्याल नियुक्त भएका हुन् ।

अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए ।

सरकारले भने वरियता पन्छाएर अर्याललाई मुख्यसचिव बनाएको छ ।निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गरिने व्यवस्था छ ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नयाँ मुख्य सचिव नियुक्ति नगरी गड्तौलालाई काुम मुख्य मुख्यसचिवको जिम्मेवारी दियो । असार अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने ।

नयाँ सरकारले छोटो कार्यकाल भएकी गड्तौलालाई मुख्य सचिव बनाएसँगै अर्यालको सम्भावना बढेको थियो ।

प्रधानमन्त्री ओलीसँग निकट सम्बन्धका कारण सबैभन्दा बलियो दाबेदार थिए । बिहीबार उनी मुख्य सचिव बनेसँगै पहिलो नम्बरका सचिव ज्ञवाली ५ वर्षे सेवा अवधि पूरा गरेर २२ भदौमा अवकाशमा जाने छन् ।


क्लिकमान्डु