आँबुखैरेनी बस दुर्घटना : मृतकको शब लैजान भारतको राज्यमन्त्रीसहित विशेष विमान आउँदै



काठमाडौं । भारत सरकारले तनहुँको आँबुखैरेनीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव फिर्ता गर्न विशेष विमानको व्यवस्था गर्ने भएको छ।

उक्त निर्णय पीडित परिवार र आफन्तहरूको इच्छाअनुसार गरिएको हो।

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले केन्द्रीय गृहमन्त्री अमित शाह र वरिष्ठ अधिकारीहरूलाई मृतकहरूको शव फिर्ता ल्याउने बारेमा कुरा गरेका थिए।

मुख्यमन्त्रीको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा शाहले शव फिर्ता ल्याउन समन्वयका लागि विशेष अधिकारी नियुक्त गरिएको र भारतीय वायुसेनाको विशेष विमान प्रदान गरिने बताएको छ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो।

घाइते १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएकाहरूको शव परीक्षण चितवनको भरतपुर अस्पतालमा सुरु गरिएको छ। परीक्षणपश्चात शव भारत पठाइनेछ।

एक्सप्रेसका अनुसार शव नेपालबाट उत्तर प्रदेशको गोरखपुर ल्याइनेछ। त्यसपछि वायुसेनाको विमानबाट नासिक ल्याइनेछ। त्यसपछि शव परिवारलाई हस्तान्तरण गरिनेछ।

विशेष विमानमा भारतका केन्द्रीय युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से पनि आउने बताइएको छ।


क्लिकमान्डु