बजारमा तरलता अत्यधिक धेरै, आइतबारै १०० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैदिन १ खर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार बोलकबोलमार्फत् निक्षेप संकलनमार्फत् यति धेरै रकम बैंकिङ प्रणालीबाट खिच्न लागेको हो ।

२१ दिनको लागि संकलन हुन लागेको निक्षेपमा बैंकहरुले ३ बजेसम्म कबोल गर्नेछन् । यो रकमको सावाँ ब्याज भदौ २३ गते फिर्ता हुनेछ । केन्द्रीय बैंकमा बैंकहरुले राख्ने निक्षेपको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थामा ८७ अर्ब रुपैयाँ अधिक तरलता थियो ।

केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप संकलन र स्थायी निक्षेप सुविधामार्फत् अधिक तरलता प्रशोचन गर्ने गरेको छ ।

यसअघि साउन ३० गते ४० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्न आह्वान गरेकामा बैंकहरुले २५ अर्ब ८० करोड रुपैयाँ राख्ने प्रस्ताव गरेका थिए । त्यसदिन राष्ट्र बैंकले २३ अर्ब ६० करोड रुपैयाँ निक्षेप खिचेको थियो ।

पछिल्लो समय स्थायी निक्षेप सुविधा प्रभावकारी हुँदा बोककबोल मार्फत् निक्षेप संकलन गर्ने क्रम घटेको छ ।

दिन बिराएर दिइने स्थायी निक्षेप सुविधा आइतबारै दिइँदै छ ।

बिहीबार बैंकहरुले राष्ट्र बैंकबाट २ खर्ब ६१ अर्ब रुपैयाँबराबरको स्थायी निक्षेप सुविधा लिएका थिए ।

एक महिनामा राष्ट्र बैंकले ४३ खर्ब ८८ अर्ब रुपैयाँ तरलता स्थायी निक्षेप सुविधा दिएर प्रशोचन गरेको थियो ।


क्लिकमान्डु